नेपालले ओमानलाई दियो २५० रनको लक्ष्य

Feb 9th, 2020

काठमाडौँ २६ माघ (रासस)

नेपालले आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा ओमानलाई जीतका लागि २५० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २४९ रनको योगफल बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ७६ बलमा छ चौका र एक छक्का प्रहार गर्दैै ५६ रनको योगदान दिएका हुन् ।

त्यसैगरी पारस खड्काले ३८ रन जोडे भने विनोद भण्डारीले ३५, आरिफ शेख र कुशल मल्लले समान २८/२८ रन जोड्दै बाहिरिए । त्यस्तै सुवास खकुरेलले २२ रन जोड्दा करण केसी १० रनमा आउट भए । दीपेन्द्र सिंह ऐरी शून्य रनमा आउट हुँदा सन्दीप लामिछानेले अविजित १० रन बनाए । डेब्यु खेलाडी कमलसिंह ऐरी नौ रनमा अविजित रहे ।

बलिङतर्फ ओमानका अकिब इलासले चार विकेट लिए भने मोहमद नदिमले तीन विकेट झारे । नेपाल पहिलो खेलमा ओमनसँग १८ रनले पराजित भएको थियो । त्यसैको बदला लिने नेपाललाई आज अवसरसमेत छ । शनिबार भएको दोस्रो खेलमा भने नेपालले अमेरिकालाई ३५ रनले पराजित गरको थियो । ओमन अहिले जवाफी ब्याटिङमा उत्रेको छ