• गृहपृष्ठ
  • संसदीय दलको बैठकमा सरकारको कामको समीक्षा

संसदीय दलको बैठकमा सरकारको कामको समीक्षा

Feb 8th, 2020

सुर्खेत, २५ माघ (रासस)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णालीको प्रदेश संसदीय दलको बैठकमा कर्णाली प्रदेश सरकारको कामको समीक्षा भएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री संसदीय दलका नेता महेन्द्रबहादुर शाहीको अध्यक्षतमा आज बसेको संसदीय दलको नियमित बैठकमा प्रदेश सरकारका विभागीय मन्त्रीले दोस्रो चौमासिकको हालसम्म भए÷गरेका कामको प्रगतिबारे दलका सदस्यलाई अवगत गराउनुभएाको थियो । बैठकमा मुख्यमन्त्री शाहीले सरकारले कर्णाली प्रदेश समन्वय परिषद्, विकास परिषद् बैठक सम्पन्न गरेको बताउँदै त्यसको दूरगामी प्रभाव सकरात्मक पर्ने विश्वास दिलाउनुभयो ।

प्रक्रियागत ढिलाइ, जनशक्ति व्यवस्थापन र विकट भूगोलका कारण सरकारको काममा ढिलासुस्ती देखिए पनि अब त्यही गति नरहने उहाँको भनाइ थियो । बैठकमा मुलतः संसद्को भूमिकालाई जतिसक्दो प्रभावकारी बनाउने, सरकारका विकास योजना, कार्यक्रम र बजेट कार्यान्वयनलाई जनअपेक्षाकृत ढङ्गबाट लैजाने भन्ने विषयमा छलफल भएको आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो ।

“सरकार आगामी बस्ने संसद् बैठकलाई फलदायी बनाउनेतर्फ केन्द्रित भएको छ”, कानूनमन्त्री भण्डारीले भन्नुभयो, “विकास निर्माणका कार्यलाई गतिशील बनाउन सबैको साथ सहयोगबाट सरकार अघि बढ्छ ।” हिउँदको समय, जनशक्ति अभाव र भौगोलिक विकटताले विकास निर्माणका कार्यमा केही अवरोध आए पनि अब सरकारका सबै काम नियमितरूपमा सञ्चालन हुने प्रदेश सरकारले बताएको छ ।

नेकपा संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहले प्रदेश सरकारका मन्त्रीहरुले आआफ्नो मन्त्रालयगत प्रगति विवरण प्रस्तुत गरेपश्चात भएको समीक्षा सौहाद्रताका साथ सम्पन्न भएको बताउनुभयो । दलको बैठकमा नेकपाका प्रदेशसभा सदस्यले आआफ्ना सुझावात्मक धारणा व्यक्त गरेका थिए ।