कोपिलाको भलिबलबाट सन्यास

Feb 8th, 2020

काठमाडौँ, २५ माघ (रासस)

नेपाली महिला भलिबलकी राष्ट्रिय खेलाडी कोपिला उप्रेतीले अन्तरराष्ट्रिय भलिबलबाट सन्यास लिनुभएको छ । उहाँले नेपाल भलिबल सङ्घ (एनभीए)को आज भएको अवार्ड कार्यक्रममा खेलबाट सन्यासको घोषणा गर्नुभएको हो ।

कोपिला नेपाली महिला भलिबल टोलीले दक्षिण एशियाली खेलकूद (साग)को १०आँै र १२औँ संस्करणमा नेपालले कास्य पदक जित्दा टोलीको महत्वपूर्ण सदस्य रहनुभएको थियो । हालै नेपालमा सम्पन्न १३औँ सागमा उहाँ बीच भलिबल टोलीमा हुनुहुन्थ्यो । झण्डै डेढ दशक नेपाली टोलीबाट भलिबल खेल्नुभएकी कोपिलाले घरेलु भलिबल प्रतियोगिता भने खेल्ने बताउनुभयो । उहाँलाई भलिबल सङ्घले रु ५० हजारबाट सम्मान गरेको छ ।