कुलबहादुर र सरस्वती भलिबल वर्ष खेलाडी

Feb 8th, 2020

काठमाडौँ, २५ माघ (रासस)

नेपाल पुलिस क्लबका कुलबहादुर थापा र एपिएफ क्लबकी सरस्वती चौधरी भलिबलका वर्ष खेलाडी घोषित हुनुभएको छ । नेपाल भलिबल सङ्घले आज राजधानीमा आयोजना गरेको कार्यक्रमबीच कुलबहादुर र सरस्वतीलाई वर्ष खेलाडीका रूपमा घोषणा गरेको हो ।

सङ्घले तीन वर्षदेखि एनभीए अवार्ड आयोजना गर्दै आएको छ । यस्तै पुरुषतर्फ सरनसामरी क्षेत्री र महिलातर्फ उषा भण्डारीलाई उदीयमान खेलाडी घोषित गरियो । महिला प्रशिक्षकतर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लबका ज्ञानेन्द्र विष्टलाई उत्कृष्ट घोषित गरियो । पुरुषतर्फको वर्ष प्रशिक्षकको उपाधि पुलिस क्लबका सरोजकुमार श्रेष्ठले जित्नुभयो । उहाँहरुलाई जनही रु २५ हजारबाट सम्मानित गरिएको हो । । यस्तै वर्ष पुरुष टोलीको अवार्ड नेपाल पुलिस क्लबले तथा महिला टोलीको उपाधि एपिएफ क्लबले जितेको छ । दुवै टोलीलाई रु एक÷एक लाखबाट पुरस्कृत गरिएको छ ।

यसैगरी सो अवसरमा भलिबल खेलको विकास र विस्तारमा योगदान दिएको भन्दै न्यू डायमण्ड एकेडेमीका प्रशिक्षक कुमार राईलाई समेत सङ्घले रु २५ हजारबाट सम्मान गरेको थियो । यस्तै नेपालमा भलिबलको विकासमा सहयोग पु¥याएको भन्दै नेदरल्याण्ड भलिबल सङ्घका विकास निर्देशक पिटरभान टरेललाई पनि सम्मान गरिएको थियो । खेलाडी, प्रशिक्षक तथा टोलीको खेल प्रदर्शनका आधारमा मूल्याङ्कन गरी सम्मानको कार्यक्रम आयोजना गर्दै आएको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले बताउनुभयो ।

सो अवसरमा बङ्गलादेशको राजधानी ढाकामा सम्पन्न प्रथम एभिसी एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप स्वर्ण पदक जित्ने नेपाली महिला भलिबल टोलीका सदस्यलाई जनही रु २५ हजारबाट सम्मान गरिएको थियो । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठले खेलाडी, प्रशिक्षक तथा टोलीलाई पुरस्कार वितरण गर्नुभएको हो ।