• गृहपृष्ठ
  • प्रधानमन्त्री ओली एशियाली “दूरदृष्टा नेता तथा राष्ट्र निर्माता अवार्ड”बाट सम्मानित

प्रधानमन्त्री ओली एशियाली “दूरदृष्टा नेता तथा राष्ट्र निर्माता अवार्ड”बाट सम्मानित

Feb 8th, 2020

काठमाडौ, माघ २५

प्रधानमन्त्री के. पी . शर्मा ओलीलाई एशियाली दूरदृष्टा नेता तथा राष्ट्र निर्माण अवार्डबाट सम्मानित गरिएको छ । एशियाली व्यवस्थापन संस्थाहरुको संगठन (आमो) ले शुक्रबार राजधानीमा आयोजित एशियाली नेतृत्व सम्मान साँझ २०२० आयोजना गरी सो सम्मान प्रदान गरेको हो ।

संस्थाका सभापति राजिव कौलले एक भव्य समारोहकाबीचमा प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई सो सम्मान प्रदान गर्नुभएको थियो । सो अवसरमा आमोले एशिया क्षेत्रका उत्कृष्ट व्यवसायीक नेतृत्वलाई पनि सम्मानित गरेको छ । आमोले उत्कृष्ट व्यवसायी नेतृत्वको सम्मान भारतका आदित्य विरला व्यवस्थापन कर्पोरेशन प्रा.लि.का समूहको कार्यकारी अध्यक्ष तथा अखिल भारतीय व्यवस्थापन संघका पूर्व सभापति डी शिवकुमारलाई प्रदान गरेको छ ।

त्यस्तै श्रीलंकाका हाट राष्ट्रिय बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जोनाथन आयल्सलाई पनि कुशल व्यवसायी नेतृत्वको सम्मान दिइएको छ । त्यस्तै नेपालका आइएमई ग्रुपका सहसंस्थापक तथा अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पनि कुशल व्यवसायिक नेतृत्वको सम्मान दिइएको छ ।

राजधानीको होटल याक एण्ड यतिमा भैरहेको अवार्ड कार्यक्रममा व्यवसायिक नेताहरुलाई प्रधानमन्त्री के पी ओलीले सम्मानित गर्नुभएको छ । सम्मान वितरण समारोहलाई एशियाली दूरद्रष्टा तथा राष्ट्र निर्माता नेताको सम्मानबाट सम्मानित हुनुभएका प्रधानमन्त्री के.पी. शर्मा ओली ,व्यवसायिक नेताको सम्मानित हुनुभएका नेपालका व्यवसायी चन्द्रप्रसाद ढकाल र भारतका डी शिवकुमारले पनि सम्बोधन गर्नुभएको थियो ।

आमो एशियाका राष्ट्रिय व्यवस्थापन संस्थाहरुको छाता संगठनको रुपमा रहेको छ । सन १९६० मा अष्ट्रेलियाको मेलबर्नमा भएको बैठकबाट यो क्षेत्रीय संस्था स्थापना गर्ने विचारको जन्म भएको थियो । सुरुमा व्यवस्थापन शिक्षाको विकास र विस्तारमा समर्पित हुने लक्ष्य राखेको यस संस्थाले समयक्रममा व्यवस्थापन शिक्षाको अलवा क्षेत्रीय बजार विकास र विस्तारमा पनि यसले ध्यान दिन थालेको छ । अहिले व्यवस्थापन संस्थाको विकास र व्यवस्थापकहरुको क्षमता अभिबृद्धिमा पनि केन्द्रित रहेको यस संस्थामा अष्ट्रेलिया, न्यूजिल्याण्ड, फिलिपिन्स, कोरिया, मकाउ, मलेशिया, हंगकंग, श्रीलंका, भारत, नेपाल र पाकिस्तानका व्यवस्थापन संघहरु सदस्य रहेका छन् ।

नेपालका व्यवस्थापकहरुको छाता संंगठनको रुपमा रहेको नेपाल व्यवस्थापन संघ यो संस्थाको सक्रिय सदस्य रहेको छ । नेपाल व्यवस्थापन संघको ३९ औं राष्ट्रिय सम्मेलन तथा बार्षिक साधारण सभाको अवसर पारेर आमोले यो अवार्ड साँझको आयोजना गरेको हो ।

नेपालका व्यवस्थापकहरुलाई संगठित गर्ने, उनीहरुको सामूहिक हित रक्षाको लागि आवश्यक नीति र नियमहरु बनाउने, व्यवस्थापकहरुको वृत्ति विकासका अवसरहरु सिर्जना गर्ने, विश्वमा प्रतिपादित व्यववस्थापनका नवीन सिद्धान्त, ज्ञान, सीप र अभ्यासहरुलाई अबलम्बन गर्दै संस्थाहरुमा सुव्यवस्थापनका माध्यमबाट सुशासन कायम गर्दै देशको आर्थिक तथा सामाजिक विकासलाई सघाउने उद्देश्यले २०३७ सालमा नेपाल व्यवस्थापन संघको स्थापना भएको हो ।

स्थापनाको ३९ बर्षको अवधिमा यस संघले राष्ट्रिय स्तरमा सरकारको नीति निर्माणका विभिन्न तहमो सल्लाहकारको भूमिका पनि प्राप्त गरेको छ भने अन्तर्राष्ट्रिय स्तरमा यसले विभिन्न ११ राष्ट्रका राष्ट्रिय व्यवस्थापन संघ तथा विभिन्न क्षेत्रीय व्यवस्थापन संघको सदस्यता प्राप्त गरी कार्यगत सम्बन्ध स्थापित गरेको छ । संघले आफ्नो भगिनी संस्थाको रुपमा व्यवस्थापन विकास केन्द्रको स्थापना गरेको छ ।

यसले अध्ययन,अनुसन्धान र परामर्शदाताको समेत काम गरेर संस्थाहरुको सुधार र आर्थिक सामाजिक विकासका प्रयासहरुलाई उपलब्धिमूलक बनाउन सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । त्यस्तै व्यवस्थापनको क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले संघले व्यवस्थापन विकास क्याम्पस पनि सञ्चालन गर्दै आएको छ । इएमबीए स्तरको अध्यापनमार्फत दक्ष जनशक्ति उत्पादन गरेर नेपालको सार्वजनिक र निजी क्षेत्रलाई योग्य व्यवस्थापकहरु आपूर्ति गर्न यसले सघाइरहेको छ । यसबाहेक संघले आवश्यकता र मागमा आधारित भएर विभिन्न किसिमका अल्पकालीन र मध्यकालीन तालिमहरु पनि सञ्चालन गर्दै आइरहेको छ ।

संघले नीति निर्माण र कार्यान्वयनमा सघाउने अभिप्रायले स्थापना कालदेखि नै बार्षिक नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा आम जनता र सरोकारवाला निकायका बीचमा संवाद गरी उपयुक्त सुझाव दिने उद्देश्यले पूर्व बजेट गोष्ठी र बजेट समीक्षा गोष्ठी गर्दै आएको छ । त्यसैगरी निजी क्षेत्र र आम नागरिकको जीवनमा असर गर्ने मौद्रिक नीतिका सम्बन्धमा पनि गोष्ठीहरु गर्दै आएको छ ।