• गृहपृष्ठ
  • भ्रष्टाचारी जो भए पनि कारवाही हुनुपर्छ : नेता थापा

भ्रष्टाचारी जो भए पनि कारवाही हुनुपर्छ : नेता थापा

Feb 7th, 2020

चितवन, २४ माघ (रासस)

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले भ्रष्ट्राचार मुद्दामा दोषी देखिए जो कोहीलाई पनि कारवाही हुनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस नगरसमिति कालिका नगरपालिकाले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भ्रष्ट्राचार मुद्दामा दोषी सबैलाई मेरो तेरो नभनी कारवाही गर्नुपर्ने बताउनुभयो ।

सरकारले ललिता निवासको जग्गाको विषयमा काँग्रेस उपसभापतिलाई मुद्दा दर्ता गरेर तत्कालीन प्रधानमन्त्रीलाई जोगाउन खोजेको उहाँको आरोप थियो । उहाँले भन्नुभयो “ललिता निवासको जग्गाको विषयमा फाइल उठाएर लैजाने मन्त्रीलाई मुद्दा लाग्ने र क्याबिनेटबाट पास गराउने प्रधानमन्त्रीलाई कारवाही नहुनुे कस्तो बिडम्बना हो ।”

सो अवसरमा बोल्दै उहाँले अहिलेको सरकारले जन अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो । सरकारले जनताको बोल्न पाउने अधिकार खोसेर जनभावना विपरीत काम गर्न खोजेको आरोप थापाले लगाउनुभयो । फरक प्रसङ्गमा बोल्दै उहाँले पार्टीभित्रको कतिपय प्रवृति बदल्दै नेतृत्वको अनुहार पनि बदल्नु आवश्यक रहेको बताउनुभयो । जनताले अहिले सङ्गठित काँग्रेस खोजेको भन्दै उहाँले अब जनताको पक्षमा लाग्नुपर्ने समय आएको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्व सभापति टेकप्रसाद गुरुङ्, महासमिति सदस्य कमलप्रसाद आचार्य, निरुजा श्रेष्ठलगायतले बोल्नु भएको थियो ।