• गृहपृष्ठ
  • अचाक्ली महंगो भयो ब्रोइलर कुखुराको मासु, कृत्रिम मूल्यबृद्धिमा व्यवसायी सफल

अचाक्ली महंगो भयो ब्रोइलर कुखुराको मासु, कृत्रिम मूल्यबृद्धिमा व्यवसायी सफल

Feb 3rd, 2020

आधारभूमी संवाददाता
काठमाडौं,माघ २०

काठमाडौं उपत्यकामा कुखुराको मासुुको भाउँ ह्वात्तै बढेको छ । साथै कुखुराको मासुु बेच्ने पसलेहरुले पनि अहिले मागे बमोजिम मासु बेच्न पाएका छैनन् । अभावका कारण बजारमा कुखुराको मासुको भाउ ह्वात्तै महंगीएको छ ।

चिसो समयका कारण उत्पादनमा ह्रास आएको केहि हदसम्म सत्य पनि हो । तर व्यवसायीको यस्तो तर्क पुरै सत्य भने छैन । डेढ महिनाअघि चल्ला उत्पादकहरुले चल्ला नष्ट गर्दा अहिले त्यसको असर बजारमा परेको छ । साथै व्यवसायीले पनि चाहे बमोजिम कै भाउ बढेको छ ।

डेढ महिनाकै बिचमा भाउ ७५ प्रतिशत बढेको देखिन्छ । किनकी डेढ महिना अघि २ सय ४० रुपैयाँ प्रतिकेजी मासु खरिद गरेका ग्राहकले अहिले त्यही १ केजीलाई नै ४ सय ५ रुपैयाँ तिर्नुपर्ने स्थिती छ ।

डेढ महिना अघि कुखुराको मासुको भाउ अत्यन्त सस्तो भएको र यसले उद्योगी र कृषक दुबैको व्यवसाय संकटमा पर्न लागेको भन्दै ह्याचरी उद्योग संघले उत्पादीत कुखुरा र चल्ला निकाल्न तयार भएका अण्डा समेत नष्ट गरेको थियो । त्यस समयमा कृषकहरुले कुखुरा पाल्नका लागि चल्ला नै नपाउने स्थिती आयो । जसका कारण अहिले माग बमोजिमको ब्रोइलरको मासु उपलब्ध हुन नसकेको हो ।

व्यवसायीको मनोमानीका कारण अहिले ग्राहक भने मारमा परेका छ । व्यवसायीले मनोमानी ढङ्गले चल्ला नष्ट गरेर अहिले कुखुराको अभाव बनाएका छन् ।

व्यवसायीको माग र योजना बमोजिमनै अहिले कुखुराको मासुको भाउ बढेको छ । आफुहरुले उचित मूल्य नपाएको भन्दै ह्याचरी उद्योगसँघले डेढ महिना अघि ४० लाख चल्ला नष्ट गरेको थियो भने झन्डै ६० लाख अन्डा खाडलमा गाडेको थियो । जसको असर नै अहिले बजारमा देखिएको हो ।

बजारमा ग्राहकले मात्रै होइन , मासु पसलेले समेत आवश्यक मात्रामा कुखुराको मासु पाउन सकेका छैनन् । जसका कराण दिउसै पसल नै बन्द गर्नुपर्ने स्थिती आएको छ । पसलहरुमा अहिले फ्रेस चिकेन भन्दा पनि फ्रोजन चिकेन उपलब्ध हुन थालेको छ ।

व्यवसायीले यसरी कृत्रिम रुपमा भाउ बढाउँदा पनि सरकार भने मुकदर्शक बनेको छ । डेढ महिना अघि व्यवसायीहरुले चल्ला नष्ट नगरेको भए आज ग्राहक मारमा पर्ने थिएनन् । चल्ला नष्ट गर्ने न व्यापारी नत कार्टेलिङ गर्ने ह्याचरी संघ माथि नै सरकार कार्वाहिमा उत्रिन सक्यो । जसका कारण नै डेढ महिनाको अन्तरालमा ग्राहकले ७५ प्रतिशतसम्म बढि मूल्य तिर्नुपरेको छ ।

देश कुखुराको मासुमा आत्मनिर्भर भइसकेको छ । तर यसका लागि आवश्यक दाना भने अहिलेपनि विदेशबाटै आउने गरेको छ । जसका कारण कुखुराको उत्पादन लागत पनि उच्च छ । धेरै मासु सस्तीदा त्यसको मारमा किसान नै पर्ने गरेका छन् । जसका कारण अहिले व्यवसायीले मात्रै यसको लाभ लिएका छन् कि यसको लाभ किसान सम्म पनि पुगेको छ अध्ययन गर्न जरुरी छ ।