अनाथ बालबालिकालाई नगरपालिकाको सहयोग

Feb 2nd, 2020

सिन्धुली, १९ माघ (रासस)

यहाँको कमलामाई नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययन गर्ने असहाय तथा अनाथ बालबालिकालाई सहयोग गरिएको छ । नगरपालिकाको आयोजना तथा प्लान इन्टरनेशनल नेपाल र मानव तथा राष्ट्रिय विकास समाज नेपाल सिन्धुलीको समन्वयमा टुहुरा तथा अनाथ बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।

नगरपालिकाका १४ वटै वडामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत ८० जना अनाथ बालबालिकालाई शैक्षिक सामग्री, विद्यालय पोशाक प्रदान गरिएको नगरपालिका सामाजिक विकास शाखाका बद्रीलाल माझीले बताउनुभयो । नगरपालिकाका प्र्रमुख खड्गबहादुर खत्रीले बालबालिकामा अर्थाभावका कारणले बीचमा नै पढाइ छाड्ने प्रवृत्ति निरुत्साहित गर्न शैक्षिक सामाग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो । नगरपालिकाले बालबालिकामा पढ्न पाउने मौलिक हकको प्रत्याभूति गर्न र बालबालिकामा अध्ययनप्रति लगनशीलता बढाउने उद्देश्यले सहयोग गरिएको उहाँले बताउनुभयो ।