• गृहपृष्ठ
  • प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको विशेष आतिथ्यमा अभिनन्दन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको विशेष आतिथ्यमा अभिनन्दन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Feb 1st, 2020

काठमाडौं, १८ माघ

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको विशेष आतिथ्यमा समुदाय-प्रहरी साझेदारी अन्तर्गत शान्ति विद्यागृह माध्यमिक विद्यालय लैनचौरमा शुक्रबार अभिनन्दन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा उक्त विद्यालयको तर्फबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अभिनन्दन गरियो । उक्त विद्यालयको जेहेन्दार एवं लगनशील पूर्व विद्यार्थी प्रहरी महानिरीक्षक खनालले प्रहरी सेवा अन्तर्गत रही राष्ट्र सेवामा समर्पित हुँदै सफलताकासाथ नेपाल प्रहरी प्रमुख, प्रहरी महानिरीक्षकको गरिमामय पदमा पुगेर राष्ट्र निर्माण कार्यमा पुर्याअउनु भएको योगदान अझ प्रभावकारी र प्रेरणादायी रहने शुभेच्छा प्रकट गर्दै विद्यालयले उहाँलाई अभिनन्दन गरेको हो । सो अवसरमा प्रहरी महानिरीक्षक खनालले समेत उहाँका गुरु पूर्व प्रधानाध्यापकहरु शंकरलाल मानन्धर, मुकुन्द प्रसाद श्रेष्ठ र कृष्ण गोपाल शर्मालाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले लागूऔषध, साइबर अपराध, महिला हिंसा, बाल विवाह लगायत सामाजिक अपराधलाई न्यूनीकरण गर्ने उद्देश्यले स्थानीय तहसँग समन्वय गरेर समुदाय-प्रहरी साझेदारीको अवधारणा अनुरुप १२ वटा प्राथमिकताका बिषयहरु तय गरी विभिन्न कार्यक्रम संचालन गरिएको बताउनुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले अन्तरक्रियामा सहभागी विद्यार्थीहरुको जिज्ञासा निरुपण गर्दै विगतको तुलनामा प्रहरीले थप उत्कृष्ट नागरिक केन्द्रीत सेवा प्रदान गरिरहेको बताउनुभयो । समुदायमा सूचनाको महत्व र यसले अपराध नियन्त्रणमा खेलेको भूमिकाको चर्चा गर्दै उहाँले अपराधिक गतिविधि देखेमा प्रहरीलाई खबर गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । प्रहरी सेवा मार्फत नै राज्यको अग्रपङ्तिमा रहेर राष्ट्र र नागरिक सेवा गर्न पाइने तथा अपराधीलाई कानूनको कठघरामा उभ्याउन पाइने भएकाले यो सेवा अन्य सेवा भन्दा उत्कृष्ट रहेको उहाँले उल्लेख गर्नुभयो ।

जहाँ सुरक्षा हुन्छ त्यहाँ विकासका गतिविधि निर्वाध रुपमा अघि बढ्ने बताउँदै प्रहरी महानिरीक्षक खनालले भयरहित समाज निर्माणका लागि समुदाय र प्रहरी मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । गुणस्तरीय शिक्षा र उज्जवल भविष्यका लागि अनुशासित र लगनशील भएमा जीवनमा सफलता हासिल गर्न सकिने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले सबै विद्यार्थीहरु सकारात्मक सोचका साथ प्रतिबद्ध भई अगाडि बढ्नुपर्ने बताउनुभयो ।

अन्तरक्रियामा सहभागी विद्यार्थीहरुले शान्ति सुरक्षा, प्रहरीको कार्य, समुदाय-प्रहरी साझेदारी कार्यक्रम लगायतका विषयमा जिज्ञासा राखेका थिए । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि उक्त विद्यालयका पूर्व प्रधानाध्यापक शंकरलाल मानन्धरले प्रहरी र जनताबीचको सम्बन्ध थप सुधार गर्दै देशको भलाइका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक शिव कुमारी बरालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक मुकुन्द प्रसाद श्रेष्ठ र वडाअध्यक्ष ख्याम राज तिवारीले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वर्षाराम भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, प्रहरी अधिकृतहरु, पूर्व शिक्षक तथा पूर्व विद्यार्थीहरु, स्थानीय संघसंस्थाका प्रतिनिधिहरु लगायत स्थानीयबासीको सहभागिता रहेको थियो ।