• गृहपृष्ठ
  • साढे चार दशकदेखि सुन्तला खेती, यस वर्ष सुन्तला बिक्रीबाट तेइस लाख

साढे चार दशकदेखि सुन्तला खेती, यस वर्ष सुन्तला बिक्रीबाट तेइस लाख

Jan 31st, 2020

वालिङ, १७ माघ (रासस)

आम्दानीको मुख्य स्रोतका रुपमा रहेको सुन्तला बिक्री गरेर यहाँका एक सुन्तला व्यवसायीले २३ लाख बढी आम्दानी गर्नुभएको छ । स्याङ्जाको गल्याङ नगरपालिका– ७ सिरौँसाका भूपराज भण्डारीले यस वर्ष सुन्तला बिक्रीबाट तेइस लाख १७ हजार आम्दानी गर्नुभएको हो ।

सुन्तला व्यवसायी भण्डारीले यसपटक ३० टन सुन्तला बोटबाटै बिक्री गरी रु २३ लाख १७ हजार आम्दानी गरेको बताउनुभयो । शुरुमा प्रतिकेजी रु ५० र अहिले प्रतिकेजी रु ८० का दरले बगैँचाबाट नै सुन्तला बिक्री गरेर उक्त आम्दानी गर्नुभएको ।

तीन वर्षमा क्रमशः २२ लाख, १७ लाख र २२ लाख सुन्तला बिक्री गर्दै आउनुभएका भण्डारीको आम्दानीको मुख्य स्रोत भनेकै सुन्तला हो । “गत वर्ष ४२ रोपनी क्षेत्रफलमा एक हजार ५०० सुन्तलाका बोट थिए जसमा ९०० फलेका थिए”, भण्डारीले भन्नुभयो, “यस वर्ष सात रोपनीमा थपेर २०० बोट लगाएको छु र पुराना मरेका ठाउँमा १०० बोट थप गरेको छु ।”

पुराना बोट हटाउने र उक्त ठाउँमा नयाँ बोट लगाउनाले सुन्तलाबाट वार्षिकरुपमा हुँदै आएको आम्दानी नघट्ने भण्डारीको भनाइ थियो । बुबाले ४५ वर्षदेखि थाल्नुभएको सुन्तलाखेतीलाई भण्डारीले व्यावसायिकरुपमा अगाडि बढाउनुभएको हो । यहाँ उत्पादन भएको सुन्तला बुटवल, पोखरा, नवलपरासी, नारायणगढदेखि व्यापारी सुन्तला खरिदका लागि सुन्तला बगैँचामा आउने गरेका भण्डारीले बताउनुभयो ।