प्रहरीद्वारा चार क्विन्टल गाँजा नष्ट

Jan 30th, 2020

सिन्धुली, १६ माघ (रासस)

यहाँको मरिण गाउँपालिका– ३ मा लगाईएको गाँजा प्रहरीले नष्ट गरेको छ । बरुण भलायो, इनारटोल र भित्री स्थितमा अवैध रुपमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीसहितको प्रहरी टोलीले तीन बिघा क्षेत्रफलको गाँजा बुधबार नष्ट गरेको हो ।

त्यस क्षेत्रमा गाँजा खेती भइरहेको भन्ने सूचनाका आधारमा हालसम्म तीन बिघामा लगाइएको गाँजा फँडानी गरि नष्ट गरिएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिनुभयो । यस्तै तयारी गाँजा उत्पादन गरी काटेर सुकाई तयारी गरिएको चार क्विण्टल गाँजा पूर्ण रुपमा नस्ट गरिएको खत्रीले जानकारी दिनुभयो । उक्त स्थलमा अहिले विशेष प्रहरीको टोली खटाएर अवैध रुपमा लगाइएको गाँजा नष्ट गर्ने कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।