• गृहपृष्ठ
  • एलआईसी नेपालद्धारा भ्रामक समाचारको बिषयमा खण्डन

एलआईसी नेपालद्धारा भ्रामक समाचारको बिषयमा खण्डन

Jan 29th, 2020

काठमाडौं, माघ १५

लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) एलआईसीले भ्रामक समाचारको बिषयमा खण्डन गरेको छ । कम्पनीले बिज्ञप्तीमार्फत भनेको छ, पछिल्लो केही दिनमा यस लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) लि. को बिषयमा केही सञ्चारमाध्यमहरुमा भ्रामक समाचारहरु प्रसारण तथा प्रकाशन भैरहेका छन् । एलआईसी इण्डिया र एलआईसी नेपालको बिषयमा गलत तथ्यको आधारमा नियतबश समाचार प्रकाशन गरी कम्पनीको मान मर्दन गरिएको प्रति कम्पनीको गम्भिर ध्यानकर्षण भएको छ । यस्ता भ्रामक समाचार प्रति हाम्रो गम्भिर आपत्ति रहेको समेत जानकारी गराउँन चाहन्छौ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लि.को संस्थापना तत्कालिन कम्पनी ऐन, २०५३ अनुसार मिति २०५७–०९–१२ मा भएको हो । जस अनुसार कम्पनी दर्ता नं. ७६५ (०५७–५८) रहेको छ । बीमा समितिबाट मिति २०५८/०४/२३ मा जीवन बीमा व्यवसाय संचालनको अनुमति प्राप्त गरी कम्पनीले मिति २०५८/०५/१६ देखि आफ्नो कार्य संचालन गरेको हो । एलआईसी नेपालमा भारतीय जीवन बीमा निगम (एल.आई.सी. अफ इन्डिया) को ५५ प्रतिसत विशाल ग्रुपको २५ प्रतिसत र सर्वसाधारण लगानीकर्ताहरुको २० प्रतिसत शेयर लगानी रहेको छ ।

एलआईसी नेपालमा भारतीय जीवन बीमा निगम (एल.आई.सी. अफ इन्डिया) को लगानी रहेता पनि यस कम्पनीले नेपालको प्रचलित ऐन तथा नियमनकारी निकायहरु (बीमा समिति, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रार कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि.) को निर्देशनहरुलाई पूर्णरुपले पालना गर्दै कार्य गरिरहेको छ । भारतीय जीवन बीमा निगम र एलआईसी नेपाल दुई भिन्न देशहरुको नियम कानून बमोजिम संचालित भैरहेका कम्पनीहरु हुन् ।

चालु आ.ब. २०७६/७७ को पुषमसान्तसम्ममा कम्पनीले करिब सात अर्ब ६९ करोड कूल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै कम्पनीको जीवन बीमा कोष ६१ अर्ब ८४ करोड ५६ लाख पुगेको छ ।
एलआईसी नेपालले स्थापनाको १८ औ वर्ष सफलतापूर्वक पुरा गरेको छ । हाल यस बीमकले देशभर ७४ शाखा कार्यालयहरुमार्फत सेवा प्रदान गरिरहेको छ । आजसम्म यस बीमकले आफ्ना बीमित, शेयरधनी, कर्मचारी, अभिकर्ता, एजेन्सी म्यानेजर र शुभेच्छुकहरुबाट पाएको माया र विश्वासको उच्च कदर गर्दै भविष्यमा पनि त्यो साथ र सहयोग रहने अपेक्षा गरेका छौं ।

यद्यपी, कम्पनीको बिषयमा अनुसन्धान बिना नै समचार प्रकाशन भैरहेको प्रति हाम्रो गम्भिर आपत्ति छ । त्यसैले हामी हाम्रा समस्त बीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, लगानीकर्ताहरु तथा सम्पूर्ण शुभेच्छकहरुमा यस्ता गलत समाचारको भ्रममा नपर्न आग्रह गर्दै कम्पनीको बिषयमा केही तथ्यहरु स्पष्ट पारेको छ । कम्पनीका अनुसार एलआईसी इण्डिया तथा एलआईसी नेपाल दुई छुट्टा छुट्टै कम्पनीहरु हुन् । यि दुवै कम्पनी सम्बन्धित मुलुकको ऐन नियम अनुसार सञ्चालित छन् । अतः एलआईसी इण्डियाको कुनै पनि दायित्वले एलआईसी नेपाल माथि कुनै प्रकारको असर नगर्ने स्पष्ट पार्न चाहन्छौ ।

एलआईसी नेपालले आफनो नयाँ बिमालेखकोे शत प्रतिशत पूनर्बिमा नेपाल पूनर्बिमा कम्पनीमा गराउँदै आएको छ । त्यस्तै, नविकरणीय (पुराना) बिमालेखहरुको पूनर्बिमा मलेशियास्थित ह्यानओभर रि (Hanover Re) कम्पनीमा गराउँदै आएको जानकारी गराउ“न चाहन्छौ, एलआईसी नेपालले भनेको छ ।