• गृहपृष्ठ
  • कृषि क्षेत्रको जागिरे अनुभव गाउँमै सदुपयोग

कृषि क्षेत्रको जागिरे अनुभव गाउँमै सदुपयोग

Jan 28th, 2020

गलकोट, १४ माघ (रासस)

बागलुङ नगरपालिका–८ सिगानाका कृषक हरिबहादुर जिसीले विसं २०४६ मा कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित लुम्ले कृषि अनुसन्धान केन्द्रमा जागिर थाल्नुभयो ।

कृषि अनुसन्धान केन्द्रमा लोभलाग्दो कृषिको व्यावसायिकता देखेपछि आफ्नै गाउँघरमा केही गर्ने सोच हरिबहादुरको मनमा आयो । अनुसन्धान केन्द्रको कृषिकर्मको छ वर्षको अनुभवका साथ विसं २०५२ मा जागिर छाडेर जिसी गाउँ फर्कनुभयो । गाउँमै व्यावसायिक तरकारी खेती शुरु गरेर नयाँ सम्भावनाको खोजी गर्नुभएका जिसी शुरुआती प्रयास नै सफल हँदै गएपछि उत्साहित हुनुभयो । त्यसपछि क्रमशः विस्तारै काम गर्दै जाँदा अहिले कृषि कर्मबाटै वार्षिक रु सात लाखभन्दा बढी आम्दानी हुन थालेको उहाँले बताउनुभयो ।

अहिले उहाँले २० रोपनी क्षेत्रफलको आफ्नै बारीमा काउली, गोलभेँडा, बन्दा तथा किबीखेती गर्नुभएको छ । तरकारी तथा फलफूलसँगै जिसीले व्यावसायिक भैँसीपालनसमेत गर्दै आउनुभएको छ । चिसापानी पशुपालन तथा कृषिफार्म दर्ता गरेर हाल पाँच उन्नत जातका भैँसी पालेर र त्यसबाट दैनिक १५ देखि २० लिटर दूध बेच्दै आउनुभएको छ । दूध मात्रै होइन, उहाँ दैनिकरूपमा बागलुङ बजारमा बिक्रीका लागि तरकारी, फलफूल तथा दूध बजार पठाउन व्यस्त हुनुहुन्छ ।

“लुम्ले कृषि अनुसन्धान केन्द्रमा पाँच वर्षको अनुभवलाई गाउँमै प्रयोग गर्न थालेको छु”, जिसीले भन्नुभयो, “अर्काको जागिर खानुभन्दा आफ्नै ठाउँमा केही गर्छु भन्ने सोचका साथ आफ्नै बारीमा कृषि र पशुपालन गरेको हुँ ।” लुम्ले कृषि अनुसन्धान केन्द्रमा सिकेको ज्ञानलाई आफ्नै प्रयोग गरी वार्षिक रु पाँचदेखि सात लाखसम्म आम्दानी गर्दै आएको जिसीले बताउनुभयो ।

क्षेत्रीको फार्ममा अहिले चार टनेल, एक ग्रिनहाउसमा तरकारी तथा सुन्तलाको नर्सरीसमेत रहेको छ । ग्रिनहाउसभित्र आठ हजार सुन्तलाका बिरुवा हुर्काइरहेको उहाँले बताउनुभयो । सुन्तलाका बिरुवा बिक्री गरेर मात्र रु आठ लाख आम्दानी गर्ने लक्ष्य जिसीको छ । व्यावसायिकरुपमा सिताके च्याउ गर्ने योजनामा समेत रहेको बताउँदै उहाँले तीन रोपनी जग्गामा लगाएको ५० बोट सुन्तलाले यही वर्षदेखि उत्पादन दिन थालेको छ भन्नुभयो । यो वर्ष मात्रै १४० किलो किवी पहिलोपटक उत्पादन गरेर बिक्री गरिसकेको उहाँको भनाइ छ ।

आगामी वर्षदेखि किवीखेतीबाट मात्रै वार्षिक रु तीन लाख आम्दानी गर्ने लक्ष्यसमेत उहाँको छ । “मैले गाउँमै बाँझो हुन थालेको जग्गामा कृषि कर्म गरेको हुँ”, उहाँले भन्नुभयो, “स्वदेशमा केही छैन भन्नेहरुले मेरो कृषि कर्मबाट केही सिकुन् भन्ने चाहना छ ।” व्यावसायिकरुपमा कृषि कर्म थालेपछि हालसम्म फार्म व्यवस्थापनमा रु १० लाख लगानी गरेको बताउँदै उहाँले थप १० रोपनी जग्गामा तरकारी खेती विस्तारमा लागेको बताउनुभयो । सिँचाइको पर्याप्त सुविधा रहेको यस क्षेत्रमा कृषि उपज बिक्रीका लागि बजारको समस्या नरहेको पनि उहाँले बताउनुभयो ।