युभेन्टस नापोलीसँग पराजित

Jan 27th, 2020

काठमाडौ , माघ १३

ईटालियन सिरि ए फुटबलमा युभेन्ट्स पराजित भएको छ । आइतबारराति भएको खेलमा शीर्ष स्थानको युभेन्ट्स नापोलीसंग २–१ गोल अन्तर पराजित भएको हो ।


नापोलीको मैदानमा भएको उक्त खेलमा घरेलु टोलीलाई जिताउन पाइट्र जेलेनेस्कीले र लोरेन्जो
ईनसिग्नीले समान एक–एक गोल गरे । यता, पराजित टोली युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले सान्त्वना गोल गरे । खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर जेलेनेस्कीले खेलको ६३ औं मिनेटमा गोल गर्दै नापोलीलाई सुरुआती  अग्रता दिलाए। यसैगरी खेलको ८६ औ मिनेटमा लोरेन्जो ईनसिग्नीले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि खेलको अन्तिम मिनेटमा रोनाल्डोले एक गोल फर्काए । रोनाल्डोले लगातार ८ लिग खेलमा गोल गर्दै युभेन्ट्सका पहिलो खेलाडी बनेका छन् ।

जितसंगै नापोली २१ खेलबाट २७ अंक  जोडेर दशौं स्थानमा उक्लिएको छ । युभेन्ट्स २१ खेलबाट ५१ अंक सहित तालिकाको शीर्ष स्थानमा यथावत छ ।