फरार प्रतिवादीहरु पक्राउ

Jan 25th, 2020

काठमाडौं, ११ माघ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ओखलढुंगा सिंहदेवी घर भई हाल भक्तपुर सिपाडोल बस्ने ५६ वर्षीय पुर्ण बहादुर खड्कालाई भक्तपुर सूर्यबिनायकबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७५ कात्तिक २६ गतेको फैसलाले २ वर्ष ६ महिना कैद सजाय ठहर भई फरार रहेका खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । खड्कालाई फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालत मार्फत कारागार कार्यालय डिल्लीबजार पठाइएको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी बैकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी कन्चनपुर शुक्लाफाँटा नगरपालिका(९ घर भई काठमाडौं महानगरपालिका १२ कलंकी बस्ने ३० वर्षीय राजेश बमलाई बुधबार प्रहरीले कलंकीबाट पक्राउ गरेको छ । राजेशले आफ्नो खातामा प्रयाप्त रकम नभई माछापुच्छ्रे बैंक न्यूरोड शाखामा रहेको खाताबाट ३ लाख ५० हजार रुपैयाँको चेक काटेको अनुसन्धानबाट खुल्न आएको थयो । उच्च अदालत पाटनको २०७६ भदौ ३० गतेको फैसलाले बैकिङ्ग कसूर मुद्दामा बिगो बमोजिमको ३ लाख ५० हजार रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भई फरार रहेका राजेशलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । राजेशलाई काठमाडौं जिल्ला अदालतमा मार्फत केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको उक्त कार्यलयले जनाएको छ ।