• गृहपृष्ठ
  • शहीद स्मारक लिग : सन्तोषको गोलमा च्यासल विजयी

शहीद स्मारक लिग : सन्तोषको गोलमा च्यासल विजयी

Jan 24th, 2020

काठमाडौँ, १० माघ (रासस)

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आजको दोस्रो खेलमा च्यासल युथ क्लब विजयी भएको छ । दशरथ रङ्गशालामा भएको खेलमा च्यासलले ब्रिगेड ब्वाइजलाई १–० गोलले पराजित गरेको हो ।

च्यासलका लागि कप्तान सन्तोष साहुखलले निर्णायक गोल गर्नुभयो । सन्तोषले खेलको इन्जुरी समयमा गोल गर्नुभएको हो । डिबक्सभित्र ब्रिगेडका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई उहाँले गोलमा परिणत गर्नुभएको हो । यसअघि पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् । दोस्रो हाफमा च्यासलले आक्रामक खेल खेले पनि गोल गर्न भने सकेन । सो खेलमा च्यासलका नाकामुरा म्यान अफ दि म्याच घोषित हुनुभयो । जीतसँगै च्यासल आठ खेलमा नौ अङ्कका साथ लिगको आठौँ स्थानमा उक्लिएको छ । ब्रिगेड आठ खेलमा आठ अङ्कसहित १०औँ स्थानमा छ ।