• गृहपृष्ठ
  • नेपाली किक बक्सिङ खेलाडी हिमालयन चितुवा अविरलले जापानमा जिते उपाधि

नेपाली किक बक्सिङ खेलाडी हिमालयन चितुवा अविरलले जापानमा जिते उपाधि

Jan 24th, 2020

काठमाडौँ, १० माघ (रासस)

युवा पुस्ताका चर्चित नेपाली किक बक्सिङ खेलाडी अविरल घिमिरेले ‘च्याम्पियन मेडल’ प्राप्त गर्नुभएको छ ।

जापानको टोकियोमा हालैसम्पन्न हिट ४६ किक बक्सिङ स्पर्धामा जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमा नै पराजित गरी उहाँले सो उपाधि हात पार्नुभयो ।

काठमाडौँ चन्द्रागिरि नगरपालिका गर्जुधारामा स्थायी घर भएका २१ वर्षीय उहाँ हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर हुन् । उहाँ जापानमा ‘हिमालयन चितुवा’को नामले परिचित हुनुहुन्छ । उहाँले पछिल्लो समय किक बक्सिङ स्पर्धामा निरन्तर आफ्नो पक्षमा जित हासिल गर्दै आइरहनुभएको छ । उहाँले हालसम्म १५ अन्तराष्ट्रिय स्पर्धामा विजयी हुनुभएको जनाइएको छ ।

उहाँ नागोया शहरमा रहेर नेपालको तर्फबाट किक बक्सिङमा व्यावसायिक खेल खेल्दै आउनुभएको छ । उहाँ पछिल्लो समय नेपाल भ्रमण वर्ष–२०२० को समेत प्रचार अभियानमा समेत जुट्नुभएको छ ।

बक्सर देव घिमिरेबाट अविरलले बक्सिङको विशेष प्रशिक्षण प्राप्त गर्नुभएको थियो । उपाधि हासिल गरेपछि अविरलले भन्नुभयो, “ अगामी दिनमा अझ मैदानमा कडा रुपमा उत्रिन्छु । यो जित सबै नेपालीको हो । ”