• गृहपृष्ठ
  • किसान रुवाउने तीन उद्योगमाथि सरकारको एक्सन्, सहमति पश्चात १६ करोड मात्रै भुक्तान ८४ करोड अझै बाँकि

किसान रुवाउने तीन उद्योगमाथि सरकारको एक्सन्, सहमति पश्चात १६ करोड मात्रै भुक्तान ८४ करोड अझै बाँकि

Jan 23rd, 2020

काठमाडौ, माघ ९
आधारभूमी संवाददाता

किसानबाट उखु खरिद गरेर त्यसबापत रकम भुक्तान नगर्ने र वर्षाैसम्म झुलाएर राख्ने ३ उद्योग माथि सरकारले बैंक खाता नै रोक्का राख्ने निर्णय गरेको छ । अब अन्नपूर्ण, इन्दिरा र लुम्बिनी सुगर मिल्सले किसानको बक्यौता रकम तिर्न बाहेक अन्य कुनै पनि आर्थिक कारोबार गर्नका लागि आफ्नो खाता प्रयोग गर्न पाउँदैनन् ।

सरकारले उखु किसानको रकम भुक्तानी नगर्ने तीनवटा चिनी उद्योगहरुको बैंक खाता रोक्का गरेको छ । उनिहउखु किसानको बक्यौता रकम भुक्तानी गर्ने बाहेक अन्य कारोबार गर्न नमिल्ने गरी सरकारले कारोबार रोक्ने निर्णय गरेको हो । कारोबार रोक्का राख्नका लागि उद्योग तथा आपूर्ति मन्त्रालयले आन्तरिक राजस्व विभागमा पत्राचार समेत गरिसकेको छ ।

पुस १८ गते उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र उखु किसानबीच भएको सम्झौता बमोजिम उद्योगहिरुले माघ ७ भित्र सबै भुक्तानी दिइसक्नुपर्ने थियो । तर अहिलेसम्म किसानलाई १६ करोड १४ लाख रुपैयाँ मात्रै भुक्तान गरिएको छ भने अझै ८४ करोड २५ लाख रुपैयाँ तिर्न बाँकी छ ।

कारोबार रोक्का भएको अन्नपूर्ण र इन्दिरा सुगर मिल राकेश अग्रवालको हो भने लुम्बिनी सुगर मिल्स मनिष अग्रवालले लिजमा लिएर सञ्चालन गरिरहेका छन् ।

उखु किसानको रकम तिर्न बाँकी रहेका यी उद्योगका सञ्चालकहरु मन्त्रालयको समेत सम्पर्कमा नआएकाले आर्थिक कारोबार रोक्का राख्ने निर्णय गरेको हो ।

सहमति पछि महालक्ष्मी सुगर्स मिलले ११ करोड ५० लाख रुपैयाँ किसानलाई तिरेको छ भने २१ करोड ४० लाख अझै बाँकि छ ।

अन्नपुर्ण सुगर मिलले ४२ करोड र एभरेष्ट सुगर मिलले ७ करोड ९३ लाख रुपैयाँ तिर्न बाँकि छ । त्यसैगरि श्रीराम सुगर मिलले २६ करोड ७७ लाख र बागमती खाडसारी चिनी उद्योगले ८ करोड ४१ लाख रुपैयाँ तिर्न बाँकि छ ।

मन्त्रालयको मध्यस्थतामा चिनी उद्योगीले आधा रकम पुस मसान्तभित्र र बा“की रकम माघको पहिलो हप्तामा दिन सहमत भएका थिए । तर म्याद गुज्रदा सम्म पनि उद्योगीहरु भने सम्पर्कमै आएका छैनन् ।

सहमती पश्चात हिमालय सुगर मिल्स , इन्दुशंकर चिनी उद्योग, इष्टन सुगर मिल, रिलाइन्स सुगर र भागेश्वर सुगरले भने सबै रकम भुक्तान गरिसकेको मन्त्रालयले जनाएको छ ।

किसानको ऋण नतिर्नेलाई सरकार थप कडाई गर्दै जाने मन्त्रालयले जनाएको छ । तर अब ति रोक्का भएका बैंक खातामा के कति रकम छ त उद्योगीको भन्ने छुट्टै अध्ययनको विषय बनेको छ ।