• गृहपृष्ठ
  • लिबिया सम्मेलनका सहभागीहरु शान्ति स्थापनामा सहमत

लिबिया सम्मेलनका सहभागीहरु शान्ति स्थापनामा सहमत

Jan 20th, 2020

बर्लिन, ६ माघ (राससरसिन्ह्वा)

जर्मनीको बर्लिनमा आइतबार शुरु भएको लिबिया सम्मेलनका सहभागीहरु लिबियामा जारी द्वन्द्वको अन्त्यका लाागि हतियारको प्रयोग निषेध गर्ने विषयमा सहमत भएका छन् ।

उक्त सम्मेलनका सहभागीहरुबीच द्वन्द्व समाधान गर्न विषयमा छलफल भएको जर्मन चान्सलर एञ्जेला मर्केलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– हामी यस सम्मेलनमा हतियारको प्रयोग रोक्ने र शान्ति स्थापनाका लागि सबैले पहल गर्ने एक गम्भीर विषयमा सहमति जनाएका छौँ ।

उहाँले बर्लिन सम्मेलनले अघि सारेको यस सहमतिले आगामी दिनमा लिबियामा शान्ति स्थापनाका लागि सहयोग पु¥याउने धारणा उक्त सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा राख्नुभयो ।

यस सहमतिले लिबियामा शान्ति स्थापनाका लागि जारी प्रयासहरुमा एक ठूलो योगदान पु¥याउने धारणा पनि जर्मन चान्सलर मर्केलले राख्नुभएको छ ।

आइतबार बर्लिलनमा शुरु भएको यस सम्मेलनमा टर्की, रसिया र फ्रान्सका राष्ट्रपतिहरू लगायत विश्वका नेताहरू सहभागी हुनुभएको छ । लिबियामा युद्ध अन्त्य गर्ने उद्देश्यले जर्मन चान्सलर मर्केलको संयोजकत्वमा उक्त सम्मेलनको आयोजना गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेससँग परामर्श गरेर सम्मेलनको आयोजना गरिएको थियो । सो सम्मेलनमा मध्यस्थताका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पनि सहभागी हुनुहुन्छ ।

लिबियामा जारी द्वन्द्व अन्त्यका लागि आवश्यक सहयोग जुटाउने विषयमा पनि छलफल भएको थियो । हाल लिबियाका प्रधानमन्त्री फायज अल–साराजलाई राष्ट्रसंघले मान्यता दिएको छ ।
उक्त सम्मेलनमा सहभागिता जनाउन लिबियाली प्रधानमन्त्री साराज र त्यहाँका विद्रोही नेता हफ्तार पनि बर्लिन पुग्नुभएको समाचारमा जनाइएको थियो ।

सो पत्रकार सम्मेलनमा मर्केलले भन्नुभयो– यो सम्मेलनबाट हामी निकै खुशी भएका छौँ र मलाई लाग्छ अब आगामी दिनमा यहाँ शान्ति स्थापना गरी सबै पक्ष मिलेर अघि बढ्ने बाटो खुलेको छ ।

उहाँले लिबियामा शान्ति प्रक्रियाका लागि यो पहिलो पाइला भएको पनि बताउनुभयो । यही हतियारको प्रयोग निषेधित भएको समयको सदुपयोग गरेर आगामी दिनमा अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

उक्त सम्मेलनपछि ५५ बुँदे सहमति पत्र पनि जारी गरिएको छ । सम्मेलनका सबै सहभागीहरुले ती ५५ बुँदामा सहमति जनाएका छन् ।

उक्त सहमतिअनुसार हतियारको प्रयोग निषेध गरिएको अवस्थाको निरीक्षणका लागि पनि एक समूह गठन गरिने छ र त्यसका आधारमा त्यहाँ हतियारको दुरुपयोग भए नभएको बारेमा निरीक्षण गरिने छ ।

यस सहमतिको संयुक्त राष्ट्रसंघले पनि सहमति जनाएको छ । संयुक्त राष्ट्रसंघ महासचिव गुटेर्रेसले यस सहमतिले लिबियामा शान्ति स्थापनाका लागि सहयोग पुर्याउने धारणा राख्नुभएको छ ।