• गृहपृष्ठ
  • प्रहरी महानिरीक्षक खनालबाट कानूनी तथा मनोसामाजिक निशुल्क परामर्श केन्द्रको उद्घघाटन

प्रहरी महानिरीक्षक खनालबाट कानूनी तथा मनोसामाजिक निशुल्क परामर्श केन्द्रको उद्घघाटन

Jan 20th, 2020

कास्की, माघ ६

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागूऔषधको प्रयोग, रोकथाम र नियन्त्रणका लागि सञ्चालित कानूनी तथा मनोसामाजिक निशुल्क परामर्श सेवा केन्द्रको आइतबार आयोजित एक कार्यक्रमबीच उद्घािटन गर्नुभयो ।

समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत पोखरास्थित नयाँबजारमा नेपाल प्रहरी र पोखरा महानगरपालिकाको सहकार्यमा उक्त परामर्श केन्द्र संचालन गरिएको हो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले लागूऔषध दुर्व्यसन कानूनी कारवाहीबाट मात्र रोकथाम र नियन्त्रण हुन नसक्ने उल्लेख गर्दै लागूऔषधको दुर्व्यसनमा फसेका व्यक्तिहरुलाई परामर्शका माध्यमबाट समाजमा स्थापित गर्न उक्त परामर्श केन्द्रको स्थापना भएको बताउनुभयो ।

लागूऔषधको सेवनले घर, समाज र देशलाई नै नकारात्मक असर पार्ने बताउँदै प्रहरी महानिरीक्षक खनालले उक्त परामर्श केन्द्रको स्थापनाले समाजमा सकारात्मक परिवर्तन ल्याउन उल्लेखीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै लागूऔषधको कारोबारमा संलग्नलाई कानूनी दायरामा ल्याउन प्रहरी सदैव लागी परेको समेत उहाँले बताउनुभयो ।

उक्त अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले लागूऔषध दुर्व्यसनमा फसेका व्यक्तिहरुलाई कानूनी कारबाहीको साथै परामर्श समेत आवश्यक रहेको उल्लेख गर्दै उक्त परामर्श केन्द्रको स्थापनाले लागूऔषध नियन्त्रण गर्न सहयोग पुग्ने विश्वासस व्यक्त गर्नुभयो । साथै लागूऔषध दुर्व्यसन जस्तो गम्भीर विषयलाई व्यक्तिगत हैसियत र सामाजिक प्रतिष्ठाको विषयमा जोडी लुकाएर नराख्न र छिटो भन्दा छिटो प्रहरीको सम्पर्कमा आई पुनस्स्थापनाको मार्गमा लाग्न उहाँले आग्रह गर्नुभयो ।

सो अवसरमा पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष धन बहादुर नेपालीले धन्यवाद ज्ञापन गर्दै पोखरा महानगरपालिकाले लागूऔषध नियन्त्रणको लागि प्रहरीसँग समन्वय गरी विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताउँदै उक्त परामर्श केन्द्रलाई निरन्तर रुपमा संचालन गर्न सो महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा पोखरास्थित विभिन्न प्रहरी कार्यालयका प्रमुखहरु, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधिहरु, पोखरास्थित लागूऔषध रोकथामका क्षेत्रमा काम गर्ने विभिन्न व्यक्तिहरु, स्थानीय जनप्रतिनिधिहरु, आमा समूह, विभिन्न विद्यालय एवम् क्याम्पसका शिक्षकहरु तथा विद्यार्थीहरु, संचारकर्मी लगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।