नवनिर्माण हुने भवनहरुको शिलान्यास

Jan 20th, 2020

कास्की, ६ माघ

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदाम परिसरभित्र नवनिर्माण हुने भवनहरुको आइतबार आयोजित एक कार्यक्रमबीच शिलान्यास भएको छ ।

वडा प्रहरी कार्यालय वैदाम पोखरामा नवनिर्माण हुने भवनको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र प्रहरी महानिरीक्षक खनालले संयुक्त रुपमा तथा जिल्ला प्रहरी कार्यालय कास्कीमा नवनिर्माण हुने भवनको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शिलान्यास गर्नुभएको हो ।
नेपाल प्रहरीका भौतिक संरचनाहरुलाई व्यवस्थित एवम् सुविधा सम्पन्न बनाई जनमुखी प्रहरी सेवा प्रवाहमा थप सहजता प्रदान गर्न नेपाल प्रहरीको नियमित बजेटबाट उक्त भवनहरु निर्माण गर्न लागिएको हो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरा महानगरलाई देशकै सुरक्षित, सु(संस्कृत र समृद्ध बनाउन महानगर अन्तर्गत योगदान गर्न कटिबद्ध भएको उल्लेख गर्दै समृद्ध समाज निर्माणका लागि जनप्रतिनिधि, प्रहरी र प्रशासन साझा उद्देश्यका साथ अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले समुदाय(प्रहरी साझेदारी अवधारणा अन्तर्गत कास्की जिल्लामा प्रहरीसँग साझेदारी गर्ने पोखरा महानगरपालिका लगायत जिल्ला अन्तर्गतका विभिन्न गाउँपालिकाहरुलाई प्रशंसापत्र प्रदान गर्नुभयो । साथै उहाँले जिल्ला अन्तर्गत उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी अधिकृतहरुलाई सम्मान समेत गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले महिला, बालबालिका तथा ज्येष्ठ नागरीक विरुद्धका घटनाहरुमा शुन्य सहनशिलताको नीति अंगिकार गरेको उल्लेख गर्दै प्रहरी संगठनलाई दक्षिण एसियाकै अब्बल प्रहरी संगठनको रुपमा परिचित गराउन राज्यद्धारा सुम्पिएका सबै जिम्मेवारीलाई संगठनले त्रुटिरहित ढङ्गले पूरा गरेको बताउनुभयो ।

सुविधा सम्पन्न प्रहरी कार्यालयहरुमा बस्ने प्रहरी कर्मचारीहरुबाट थप प्रभावकारी एवं जनमुखी प्रहरी सेवा प्रवाह हुनेमा आफू विश्वस्त रहेको बताउँदै प्रहरी महानिरीक्षक खनालले तोकिएको समयभित्रै निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभयो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले प्रहरी संगठनका लागि सुविधा सम्पन्न भवनहरुको निर्माण हुनु खुसीको कुरा भएको बताउँदै प्रविधियुक्त र जनमैत्री सेवा प्रवाह गर्न प्रहरी प्रतिबद्ध रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश संसाद राजिव पहारी, सुरक्षा निकायका प्रमुखहरु, स्थानीय निकायका प्रतिनिधिहरु, प्रहरी अधिकृतहरु, संचारकर्मी लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।