झापामा तीन सातादेखि १० रुपैयाँमै खाना

Jan 19th, 2020

– सुरेन्द्र भण्डारी
सुरुङ्गा, ५ माघ (रासस)

सडक बालबालिका, असाहय र विपन्न समुदायलाई लक्षित गर्दै झापाका तीन युवाले विगत तीन सातादेखि १० रुपैयाँमै खाना उपलब्ध गराउँदै आउनुभएको छ । मारवाडी समुदायका तीन युवा प्रविन अग्रवाल, पुरुषोत्तम अग्रवाल र मनोज अग्रवालले विगत तीन सातादेखि दैनिक ५०० जनालाई खाना खुवाउँदै आउनुभएको छ । विर्तामोडको मुख्यचोकमा बिहान ७ बजेदेखि अपराह्न १२ बजेसम्म दैनिक दाल, भात, तरकारी र अचारसहितको खाना सेट उपलब्ध गराउँदै आएको युवा व्यवसायी प्रविनले बताउनुभयो । उहाँले भन्नुभयो, “चिसो मौसममा कतिपय घरमा खान नभएर भोकै काममा हिँड्नु पर्ने हुन्छ अनि कतिपय सडक बालबालिका खानाको खोजीमा चिसोमा भौँतिरिरहेका हुन्छन्, उनीहरुलाई सहजताका लागि हामी तीन जनाले १० रुपैयाँमै खाना दिन शुरु गरेका हौँ ।”

सित्तैमा खाना खान पाइने भएपछि अहिले मजदूरलाई धेरै सहज भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ १० रुपैयाँ हुनेले दिन्छन् नहुनेले दिँदैनन्, हामी कसैसँग पनि पैसा माग्दैनौँ, सहयोगका लागि टोकरी राखिदिएका छौँ, इच्छा हुनेले त्यही टोकरीमा पैसा राखिदिनुन्छ ।” सामाजिक कामका लागि तीन युवाले देखाएको आँट अहिले झापावासीका लागि उदाहरणीय बनेको छ । बिहानको चिसोमा तीन युवा आफैँ खानाको तयारीमा जुट्नुहुन्छ । उहाँहरुसँगै अरु तीन जना कालीगढ पनि बिहानै निस्कनुहुन्छ । बिहानै छ सात जनाको समूहले तयार गरेको खाना वितरणका लागि दुई महिलाले सधैँ सहयोग गर्दै आउनुभएको छ ।

बिहान ७ बजेबाट खाना वितरण शुरु हुन्छ । दश बजेसम्म खाना खानेको चोकमा भीडभाड हुन्छ । “रु १० मा खाना वितरण गर्नेभन्दा शुरुमा कसैले पत्याएका थिएनन्”, पुरुषोत्तमले भन्नुभयो, “विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराई, प्रदेश नं १ का उद्योग वाणिज्य सङ्घका सदस्य बलराम कार्कीको उपस्थितिमा हामीले खाना वितरणको कार्यक्रम शुरु गर्दा सबैले हाँसो मजाकमा उडाउनुभयो, तर अहिले तीन सातादेखि निरन्तर निःशुल्क खाना प्रदान गर्दै आएपछि सहयोग जुट्न थालेको छ ।”

विर्तामोडमा १० रुपैयाँमा खाना दिन शुरु गरेपछि दमक र भद्रपुरमा पनि केही युवाले यस्तै कामको शुरुआत गरेका छन् । झापाका तीन ठाउँमा १० रुपैयाँमै खाना खान पाइने भएपछि विपन्न समुदाय, मजदूर, सडक बालबालिका र असहायका लागि सहज भएको छ । “रमाइलोका लागि वनभोज जानुभन्दा विपन्न वर्गलाई खाना दिएर पेट भर्नु पुण्यको काम हो”, मनोजले भन्नुभयो, “अहिले दैनिक कम्तीमा ५०० जनाले चिसो मौसममा तातो भात खाइरहनुभएको छ, जसले गर्दा उहाँहरुलाई काममा जान सहज भएको हामीले महसुस गरेका छौँ ।”

दिनहुँ महङ्गी बढिरहेका बेला दैनिक ५०० को हाराहारीलाई तीन युवाले तीन सातादेखि खाना खुवाउने काम गरेपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइराला, चन्द्रगढी विमानस्थलका प्रमुख पूर्ण चुडाल जिल्लाका सरकारी निकायका उच्च अधिकारी सामाजिक सङ्घसंस्था, उद्योगी व्यवसायीले अनुगमन गर्दै प्रशंसा व्यक्त गरेका गर्नुभएको छ । कतिपय सहयोगीले सो कार्यको प्रशंसा गर्दै सहयोग गरेको बताइएको छ ।