• गृहपृष्ठ
  • नेपाल वायुसेवा निगमकाअध्यक्ष खरेलद्वारा राजीनामा

नेपाल वायुसेवा निगमकाअध्यक्ष खरेलद्वारा राजीनामा

Jan 19th, 2020

काठमाडौँ, ५ माघ (रासस)

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिनुभएको छ । अध्यक्ष खरेलले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसमक्ष राजीनामा पत्र बुझाउनुभएको मन्त्रालय स्रोतले जनाएको छ । यद्यपि, खरेलको राजीनामा सम्बन्धमा स्वतन्त्र पुष्टि भइसकेको छैन । यसबारे कुनै पनि निकायले आधिकारिक प्रतिक्रिया दिएको छैन । निगमका प्रवक्ता गणेशबहादुर चन्द्रले अध्यक्ष खरेलले राजीनामा दिएको हल्ला आए पनि निगमका कुनै पनि विभागलाई अहिलेसम्म कुनै जानकारी नआएको राससलाई बताउनुभयो ।

बिहान मन्त्रीसमक्ष राजीनामा बुझाइएको भनिए पनि खरेल कार्यालय समयमा कार्यकक्षमै रहेको निगमका एक उच्च अधिकारीले जानकारी दिनुभयो । पर्यटन मन्त्रालयका उच्च अधिकारीसँग सम्पर्क गर्दा खरेलको राजीनामाबारे अनभिज्ञता प्रकट गर्नुभयो । स्वयं खरेलसँग पटकपटक सम्पर्क गर्दा पनि कुराकानी हुन सकेन । झापा स्थायी घर भएका खरेललाई गत विसं २०७५ भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । खरेल यसअघि विसं २०७० जेठमा निगमको महाप्रबन्धक बन्नुभएको थियो ।