• गृहपृष्ठ
  • पाँच महिनामा ४७ अर्ब ४२ करोडको सामान निर्यात

पाँच महिनामा ४७ अर्ब ४२ करोडको सामान निर्यात

Jan 19th, 2020

काठमाडौ, माघ ५

चालुु आर्थिक बर्षको पाँच महिनामा कुल वस्तु निर्यात २७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज आईतबार सार्वजनिक गरेको मुुलुकको आर्थिक अवस्था सम्वन्धी पछिल्लो पाँच महिनाको प्रतिवेदन अनुसार निर्यात बढेर ४७ अर्ब ६२ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२ दसमलव सात प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ४८ दसमलव छ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तर्फको निर्यात छ दसमलव दुुई प्रतिशत र अन्य मुलुकतर्फ तीन दसमलव दुुई प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान,धागो (पोलिष्टर तथा अन्य), आयुर्वेदिक औषधि लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार तथा रडलगायतका वस्तुहरुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा कुल वस्तु आयात चार दसमलव दुुई प्रतिशतले घटेर पाँच खर्ब ८१ अर्ब २६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३४ दसमलव दुुई प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः नौ दसमलव पाँच प्रतिशत र २प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात १५ दसमलवग छ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, रासायनिक मल, अन्य मेसिनरी तथा पाटपुर्जा,विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधनतथा पार्टपुर्जा, सिमेन्ट लगायतका वस्तुहरुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगंज, विराटनगर, मेची, तातोपानी र कन्चनपुर बाहेकका नाकाहरुबाट गरिएको निर्यातमा ह्रास आएको छ ।आयाततर्फ सुख्खा बन्दरगाह, मेची, तातोपानी, कन्चनपुर र रसुवा बाहेकका भन्सार नाकाहरुबाट भएको आयातमा ह्रास आएको छ ।

आर्थिक वर्ष २०७६/७७ को पाँच महिनासम्ममा कुल वस्तु व्यापार घाटा छ दसमलव तीन प्रतिशतले घटेर पाँच खर्ब ३३ अर्ब ६४ करोड रहेको छ । गतवर्षको सोही अवधिमा व्यापार घाटा ३६ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात आठ दसमलव दुुई प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात छ दसामलव दुुई प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।