• गृहपृष्ठ
  • ‘सामुदायिक विद्यालयमा गरिबका छोराछोरी पढ्छन् भन्ने धारणा हटाउनुपर्छ’

‘सामुदायिक विद्यालयमा गरिबका छोराछोरी पढ्छन् भन्ने धारणा हटाउनुपर्छ’

Jan 19th, 2020

दमौली, ५ माघ (रासस)

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सामुदायिक विद्यालयमा गरीबका छोराछोरी मात्रै पढ्छन् भन्ने धारणा हटाउनुपर्नेमा जोड दिनुभएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारस्थित खैरेनी माध्यमिक विद्यालयको ५१आँै वार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले सामुदायिक विद्यालयले पनि दक्ष जनशक्ति उत्पादन गर्न सक्ने क्षमता राख्ने बताउनुभयो । मन्त्री गुरुङले सरकार समृद्धितर्फ अगाडि बढेकाले अब देशलाई सबै क्षेत्रमा दक्ष जनशक्ति आवश्यक रहेको चर्चा गर्दै सामुदायिक विद्यालयमा पनि प्राविधिक शिक्षाको अध्ययन शुरु भइसकेको जानकारी गराउनुभयो ।

उहाँले उच्च शिक्षामा दक्ष तथा व्यावसायिक जनशक्ति उत्पादन गर्न शुक्लागण्डकीमा नै गण्डकी विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया शुरु भइसकेको बताउनुभयो । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डा वुद्धिबहादुर थापाले शिक्षक र विद्यार्थीबीचको सुमधुर सम्बन्धले पढाइको वातावरण सिर्जना हुनेमा जोड दिनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख रमाकान्त शर्माले सामुदायिक विद्यालयमा केही समस्या रहेको चर्चा गर्दै सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार्नुपर्ने बताउनुभयो । नगर उपप्रमुख सविता रसाईलीले बालबालिकालाई समयले खोजे अनुसारको शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गर्ने वुद्धिबहादुर थापा, कलावती घिमिरे, हरिाज घिमिरे, धनबहादुर विक, सुरेशराज र राधा पौडेल, जनकराज तिम्सिनालाई सम्मान गरिएको थियो ।