• गृहपृष्ठ
  • शिख स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सेवा सञ्चालनमा

शिख स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सेवा सञ्चालनमा

Jan 19th, 2020

गलेश्वर, ५ माघ (रासस)

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सेवा पुनः सञ्चालन आएको छ । दक्ष जनशक्ति र उपकरणको अभावमा दुई वर्षदेखि सो सेवा रोकिएको थियो ।

सुरक्षित गर्भपतन सेवामा सहज पहुँच बढाउन वडाका जनप्रतिनिधि र अगुवाको पहलमा पुनः सेवा शुरु गरिएको स्थानीय सेते तिलिजाले जानकारी दिनुभयो । अनिच्छितरुपमा रहेको १२ हप्तासम्मको गर्भपतन गर्न पाउने सुविधा छ ।

स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष दिनेशकुमार पुनको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा आइपास नेपालकी जिल्ला संयोजक थमकुमारी कुँवरले गर्भपतनसम्बन्धी कानूनी प्रावधानको बारेमा जानकारी गाउनुभएको थियो । स्वास्थ्यचौकीका प्रमुख तुलबहादुर रन्तिजा र डिलकुमारी पाइजाले सेवाको बारेमा बताउनुभएको थियो ।

गर्भवती र सुत्केरीलाई आपत्कालीन कोष

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गर्भवती र सुत्केरीलाई आपत्कालीन कोषको स्थापना गरेको छ । गाउँपालिकाभित्र रहेका प्रत्येक वडामा रु एक–एक लाख बराबरको कोष स्थापना गरिएको हो ।

गरिब, असहाय तथा समस्यामा परेका गर्भवती, सुत्केरीका साथै गरिब तथा विपन्नको उपचारमा सहज हुने गरी कोषको स्थापना गरिएको गाउँपालिका प्रमुख डमबहादुर पुनले जानकारी दिनुभयो । “भविष्यमा आवश्यकताअनुसार बजेट थप गर्नेछौँ । वडास्तरमै विभिन्न स्वास्थ्य शिविर समेत सञ्चालन गरिने छ”, उहाँले भन्नुभयो ।

गाउँपालिकाको दुर्गम क्षेत्रमा रहेका महिलालाई गर्भवती अवस्थादेखि प्रसूतिसम्म आवश्यक पर्ने स्वास्थ्य सेवाका बारेमा समेत सचेत रहेको गाउँपालिकाले जनाएको छ । कोषको स्थापना गरेपछि हरेक वडामा रहेका स्वास्थ्यचौकी, सामाजिक परिचालकबाट समेत तथ्याङ्क सङ्कलन गरिएको छ । कोष सञ्चालनका लागि कार्यविधिसमेत बनाएर घरदेखि स्वास्थ्यचौकी र अस्पतालसम्म पुग्ने बिरामीलाई यातायात खर्चसमेत उपलब्ध गराइने गाउँपालिकाका प्रवक्ता कृष्णबहादुर बरुवालले जानकारी दिनुभयो । उहाँले गाउँसभाका सदस्य सुत्केरी भए एकमुष्ठ रु १० हजार उपलब्ध गराइने बताउनुभयो ।