रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

Jan 19th, 2020

काठमाडौं, ५ माघ

रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा रियालले सेभियालाई २–१ ले पराजित गर्दै ला लिगाको शीर्षस्थानमा पुगेको हो । 

खेलमा कासेमिरोले ५७ औं र ६९ औं मिनेटमा गोल गरे ।  सेभियाका लागि लुक डे जोङले ६४ औं मिनेटमा गोल गरे ।

खेल पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो । तर दोस्रो हाफको ५७ औँ मिनेटमा लुका योभिचको पासमा कासिमेरोले गोल गर्दै टोलीलाई अग्रता दिलाए । रियलको अग्रता लामो समय भने टिकेन । ६४औं मिनेटमा सेभियाले बराबरी गोल फर्कायो ।  मुनिर एल हाद्दादिको पासमा लुक डि जोङले बराबरी गोल फर्काएका थिए । त्यसको ४ मिनेट पछि नै क्यासमिरोले लुकास भास्क्वेजको क्रसमा हेडमार्फत गोल गर्दै रियलको जीत पक्का पारे ।

जितपछि बार्सिलोनालाई ३ अंकले पछि पार्दै रियल शीर्ष स्थानमा उक्लेको छ । रियलको १९ खेलबाट ४३ अंक छ भने एक खेल कम खेलेको खेलेको बार्सिलोनाको ४० अंक छ ।

पराजित सेभिया ३५ सहित लिगको चौथो स्थानमा छ भने गोल अन्तरका कारण समान अंकसहित एथ्लेटिको मड्रिड लिगको तेश्रो स्थानमा छ।