अवैध लागूऔषध सहित पक्राउ

Jan 19th, 2020

काठमाडौं, माघ ५

झापा, बिर्तामोड नगरपालिका ३ फन्मिनबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ०.५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय बिकास उप्रेती र २३ वर्षीय सुवास तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सिरहा, लहान नगरपालिका १० ग्रामिणचोकबाट अवैध लागूऔषध ब्राउनसुगर १५ ग्राम ९ सय २० मिलिग्राम, ह्वाईटसुगर २ सय मिलिग्राम, नेपाली रुपैयाँ १ लाख ७ हजार ५ सय, भारतीय रुपैयाँ ५ हजार ४ सय ४०, लागूऔषध नाप गर्ने मेसिन १ थान र मोबाइल ३ थान सहित सप्तरी सुरुंगा नगरपालिका ८ बस्ने ३२ वर्षीय प्रेम कुमार चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले स.४ प ४७३ नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा चालक चौधरीलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सर्लाही, पर्सा गाउँपालिका ५ स्थितबाट नियन्त्रित लागूऔषध फेन्सिड्रिल २ सय १० बोतल, नाईट्राभेट ९ सय ट्याबलेट, नगद ३ लाख ६७ हजार रुपैयाँ र मोबाइल ५ थान सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका १ बस्नेहरु ३५ वर्षीय पूर्ण बहादुर तमाङ र योग्यचन्द्र आले रहेका छन् । प्रहरी चौकी पर्साबाट खटिएको प्रहरीले बा.१२ च ३५२७ नम्बरको कार जाँच गर्ने क्रममा कारमा लुकाई छिपाई राखिएको उक्त लागूऔषध तथा नगद फेला पारी कारमा सवार उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।