• गृहपृष्ठ
  • शुक्रबार बिहानदेखि अवरुद्ध बेँसीशहर–चामे सडक सञ्चालनमा

शुक्रबार बिहानदेखि अवरुद्ध बेँसीशहर–चामे सडक सञ्चालनमा

Jan 18th, 2020

लमजुङ, ४ माघ (रासस)

गण्डकी प्रदेशअन्तर्गत अवरुद्ध लमजुङ–मनाङको एकमात्र बेँसीशहर–चामे सडकखण्ड सञ्चालन भएको छ । वर्षाले शुक्रबार बिहानदेखि सो खण्डका विभिन्न स्थानमा पहिरो जाँदा अवरुद्ध सडक आज दिउँसो करीब साढे २ः०० बजेदेखि सञ्चालन भएको हो ।

सडक डिभिजन कार्यालय दमौलीका सबइन्जिनीयर सुमन अधिकारीका अनुसार बेँसीशहर–चामे सडकमा पर्ने मस्र्याङ्दी गाउँपालिकाको स्याङ्गे, च्याम्चे र नासो गाउँपालिकास्थित सिरनतालमा झरेको पहिरो पन्छाइएसँगै सवारीसाधन आवतजावत भइरहेका छन् । शुक्रबार पहिरो गएको केही समयपछि सडक डिभिजन कार्यालयको स्काभेटरले सडक खुलाउने प्रयास गरे पनि असम्भव भएको र आज वर्षा नभई घाम लागेकाले सडक माथिबाट ढुङ्गा–माटोसहित पहिरो पूर्णरुपमा पन्छाइएको उहाँले बताउनुभयो ।

पहिरो पन्छाएसँगै अन्नपूर्ण पदमार्गमा आएका पर्यटकलगायत यात्रुलाई सहज भएको मस्र्याङ्दी गाउँपालिकाका बासिन्दा भीमबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “गुणस्तरीय सडक छैन, त्यहीमाथि हल्का वर्षा हुँदासमेत विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्ध हुन्छ, सडकमा यात्रुलाई पहिरो तथा ढुङ्गा–माटो खसेर ज्यान जाने खतरा पनि रहेको छ ।” विसं २०६९ देखि सञ्चालन भएको यस सडकखण्ड ६५ किलोमिटर छ ।