• गृहपृष्ठ
  • बौद्धको ल्होसारमा पर्यटन प्रवद्र्धनमा जोड दिइने

बौद्धको ल्होसारमा पर्यटन प्रवद्र्धनमा जोड दिइने

Jan 18th, 2020

– पूर्णप्रसाद मिश्र
काठमाडौँ, ४ माघ (रासस)

बौद्ध क्षेत्रमा तामाङ जातिले मनाउने २८५६औँ सोनाम ल्होसारका लागि मूल समारोह समिति गठन गरिएको छ । बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा गठित ६० सदस्यीय समितिमा बौद्ध क्षेत्रमा क्रियाशील सबै संस्थाका प्रतिनिधि सदस्य छन् ।

यही माघ ११ गते सुँगुर वर्षलाई बिदाइ गरी मुसा वर्षमा प्रवेश गर्ने समितिका अध्यक्ष चन्द्रमान लामाले राससलाई जानकारी दिनुभयो । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रमा सोनाम ल्होसारलाई यसपटक नेपाल भ्रमण वर्षसँग जोडेरसमेत प्रचारप्रसार गर्न शुरु भइसकेको पनि उहाँले बताउनुभयो । नेपाल आउने धेरै पर्यटकको रोजाइमा बौद्ध क्षेत्र पनि पर्छ । तामाङ जातिको मौलिक वेशभूषा, सांस्कृतिक गतिविधि, खाना लगायतका प्रदर्शनसमेत गरिने ल्होसारमा धेरै पर्यटक आकर्षित गराउने काम शुरु भएको छ ।

माघ ११ गते बौद्ध क्षेत्रमा सांस्कृतिक झाँकीसहित बाजागाजाको ¥याली निकालिनेछ । दिउँसो महेन्द्र बौद्ध मावि परिसरमा मूल समारोह समितिका तर्फबाट पर्यटन वर्षसमेत सफल बनाउन आह्वान गर्दै कार्यक्रम गरिने जनाइएको छ । ल्होसार र नेपाल भ्रमण वर्षका लागि बौद्ध क्षेत्रमा सरसफाइ, सडक मानवमुक्त घोषणालगायत काम भएको छ । चावहिलबाट बौद्ध निस्कने मूल सडक कालोपत्र भए पनि भित्रका सडक भने अझै जीर्ण हुँदा पर्यटकमार्फत नकारात्मक सन्देश जाने हो कि भन्ने चिन्ता बढेको पर्यटन व्यवसायी लक्ष्मी तामाङले बताउनुभयो ।

टुसालबाट महाङ्काल निस्कने अमिताभ बुद्ध मार्गसमेत भनिने यो सडक जीर्ण छ । सडक जीर्ण हुँदा बिहीबार र शुक्रबार भएको वर्षाले दह जमेको छ । सडकमा हिँड्ने सवारीले पानी छ्याप्दा पेटीमा हिँड्ने पर्यटक निथ्रुक्क हुन्छन् । यो अवस्थामा सुधार ल्याउन सरोकार भएका निकायले ध्यान नदिएको स्थानीयवासीको गुनासो छ ।

यो सडकमा हायात रिजेन्सी होटलबाट बाढी एवं ढल जाँदा पनि सडकमा दह जम्ने गरेको छ । विभिन्न काममा होटलले प्रयोग गरेको फोहर पानी यो सडकमा जान्छ । समितिले हायात होटललाई पटकपटक आग्रह गर्दा पनि लिकेज नटालेको अध्यक्ष लामाले बताउनुभयो । बौद्ध क्षेत्रका अन्य सडक भने मर्मत सम्भार भइसकेका समितिले जनाएको छ । बौद्ध फूलबारीबाट तीनचुले निस्कने सडक हालै मर्मतसम्भार गरिएको छ । रु सात लाखको लागतमा ७०० मिटर सडक मर्मत गरिएको हो । तीनचुलेबाट पानी परेका बेला बग्ने भेल पनि नियन्त्रण गरिएको छ ।

भ्रमण वर्षको सचिवालयले हाल बौद्ध स्तूप अघि यतिको मूर्ति राखेपछि पर्यटक यहाँ आकर्षित भएका छन् । धेरै बाह्य एवं आन्तरिक पर्यटकले यतिको मूर्तिसँग बसेर तस्बीर र सेल्फी खिच्ने गरेका छन् । यो मूर्ति विभिन्न स्थानमा घुमाएर पर्यटकलाई आकर्षित गरिने जनाइएको छ । एक साताअघि ल्याइएको मूर्ति अब एक साता बौद्ध स्तूपमा राखिने समितिका कार्यकारी निर्देशक वसन्त लामाले बताउनुभयो । स्तूपसँगैको घ्याइलिसाङ उद्यानमा मञ्च तयार गरी १५ दिनमा एकपटक सांस्कृतिक प्रदर्शनी गरेर भ्रमण वर्षभर पर्यटक आकर्षित गरिने पनि उहाँले सुनाउनुभयो ।