• गृहपृष्ठ
  • कर्णालीमा १५० सहयोगापेक्षी सडक मानवको उद्धार

कर्णालीमा १५० सहयोगापेक्षी सडक मानवको उद्धार

Jan 18th, 2020

सुर्खेत, ४ माघ (रासस)

कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडक मानवरहित प्रदेश बनाउन १५० जनाको उद्धार गरिएको छ । गाँस, बास र कपासको अभावमा सडकलगायतका सार्वजनिक स्थानमा जीवन बिताउँदै आएका उनीहरुको उद्धार गरिएको हो ।

सबै स्थानीय तह, सरोकारवाला र मानवसेवा आश्रमसँगको सहकार्यमा आज कर्णालीलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गर्ने कार्यक्रम छ । घोषणासँगै कर्णाली नेपालकै पहिलो सहयोगापेक्षी सडक मानवरहित प्रदेश बन्नेछ । सामाजिक विकास मन्त्रालयका सचिव डा मानबहादुर विकले सडकमा मागेर खाने र सडकमै रात बिताउनेहरुको उद्धार गरी सहयोगापेक्षी सडक मानवरहित प्रदेश घोषणाको तयारी गरिएको बताउनुभयो ।

यही पुस ८ गतेको प्रदेशको मन्त्रिपरिषद् बैठकले कर्णालीलाई सहयोगापेक्षी सडक मानवमुक्त बनाउने निर्णय गरेको थियो । त्यस्तै, पुस ११ गते सम्पन्न प्रदेश समन्वय परिषद्को दोस्रो बैठकमा कर्णालीलाई सडक सहयोगापेक्षी मानवरहित प्रदेश बनाउने सङ्कल्प पारित गरिएको थियो ।

यसको कार्यान्वयनमा प्रदेश सरकारले जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा अनुगमन तथा निगरानी समूह गठन गरेको छ । संविधानको मर्म र लोककल्याणकारी राज्यको अवधारणा सार्थक पार्न तथा सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने उद्देश्यले सडक मानवरहित प्रदेश घोषणा गर्न लागिएको बताइएको छ ।

मानवसेवा आश्रम सुर्खेतमा हाल ५० जना आश्रित छन् ्। आश्रमका संयोजक सिर्जना ओलीका अनुसार एक वर्षको अवधिमा १५० जनालाई सडकबाट उद्धार गरेर ल्याइएकोमा अन्यलाई परिवारको जिम्मा लगाइएको छ । अव सडक सहयोगापेक्षी मानिस देख्न वित्तिकै प्रहरी, सम्बन्धित स्थानीय तहले मानवसेवा आश्रममा बुझाउनेछन् ।