• गृहपृष्ठ
  • विकास निर्माण सबै राजनीतिक दलहरुको साझा एजेण्डा बन्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

विकास निर्माण सबै राजनीतिक दलहरुको साझा एजेण्डा बन्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

Jan 18th, 2020

भक्तपुर, माघ ४

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले विकास निर्माण सबै राजनीतिक दलहरुको साझा एजेण्डा बन्नु पर्ने बताउनु भएको छ । भक्तपुरको सल्लाघारीमा नेपाल निर्माण व्यवसायी महासंघको २१ औं साधारण सभा तथा नेपाल बिल्ड टेक एक्स्पो २०२० को उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री पोख्रेलले भौतिक पूर्वाधारको निर्माणविना समृद्ध मुलुकको परिकल्पना गर्न नसकिने बताउनुभयो ।

समृद्ध मुलुक निर्माणका लागि निर्माण व्यवसायीहरुसँग सहकार्य गरी अघि बढ्न सरकार तयार रहेको पनि उपप्रधान तथा रक्षामन्त्री पोख्रेलले स्पष्ट पार्नुभयो । “निर्माण व्यवसायीहरुले भने झै सरकारले निर्माण उद्योगमैत्री ऐन नियम ल्याइरहेको छ, अब निर्माण व्यवसायीहरुले पनि इमान्दारितपूवर्क काम गर्नुपर्छ” उपप्रधान तथा रक्षामन्त्री पोख्रेलले भन्नुभयो । समयमा नै निर्माण कार्य पूरा नहुँदा सबैलाई घाटा पुग्ने भन्दै पोख्रेलले यसतर्फ सजग हुन व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

निर्माण कार्यमा लापरवाही गर्नेलाई कार्वाही गर्न सरकार बाध्य हुने समेत उहाँले बताउनुभयो । नेपाली निर्माण व्यवसायीहरु अब आफ्नो योग्यता तथा क्षमता सहित श्रेष्ठता प्रमाणित गर्दै अन्तर्रा्ष्ट्रिय स्तरको हुनुपर्ने उहाँको भनाइ थियो । महासंघका मानार्थ सदस्य समेत रहनु भएका सांसद जीप छिरिङ लामा शेर्पाले निर्माण कार्य समयमा नै पूरा नहुनुमा निर्माण व्यवसायीको मात्र दोष नरहने भन्दै समयमा नै भुक्तानी नहुँदा व्यवसायीलाई धेरै असहज भएको बताउनुभयो । सांसद बहादुरसिंह लामाले निर्माण क्षेत्रमा गहन अनुसन्धान आवश्यक रहेको भन्दै व्यवसायीले मोबिलाइजेशन खर्चको दुरुपयोग नगरेको दाबी गर्नुभयो । नेकपाका नेता डाक्टर विजय पौडेलले आफ्ना समस्याहरु खुल्ला रुपमा राख्न व्यवसायीहरुलाई सल्लाह दिनुभयो ।

प्रधानमन्त्री कार्यालयका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले व्यवसायीका समस्याबारे सरकार जानकार रहेको भन्दै व्यवसायीहरुको समस्या समाधान भइरहेको बताउनुभयो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले म्याद थप तथा बैंक क्रेटिड लाइनको समस्या समाधान भएपनि व्यवसायीहरु अरु धेरै समस्या खेप्न बाध्य भएको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । “निर्माण व्यवसाय चलायमान नहुँदा दशेको अर्थतन्त्रमा नै समस्या आउने भएकाले निर्माण व्यवसायीका जायज माग पूरा गर्नुको विकल्प सरकारसँग छैन” अध्यक्ष सिंहले भन्नुभयो ।

इफाप्काका अध्ययक्ष मोहमद अली जनाहले राजनीतिक स्थिरता विना विकासको परिकल्पना गर्न नसकिने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले नेपालका व्यवसायीहरुले विविध चुनौतिका बाबजुद उत्कृष्ट काम गरिरहेको बताउनुभयो । नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले पूर्वाधार विकासमा निर्माण व्यवसायीको भूमिकाको चर्चा गर्नुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, महासचिव रोशन दाहाल, उपाध्यक्ष हिरेन्द्र दाहाल लगायतले समृद्ध नेपाल सुखी नेपालीको अवधारणालाई मूर्त रुप दिने काम निर्माण व्यवसायीले मात्र गर्न सक्ने बताउनुभयो । सोही अवसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले महासंघको मुखपत्र निर्माण विशेषांकको विमोचन गर्नु भएको थियो । त्यस्तै महासंघको तर्फबाट प्रदेश सभासदमा विजयी कृष्णलाल भँडेल र इफाप्का अध्यक्ष मोहमदलाई अली जनाहलाई सम्मान गरिएको थियो ।

साधारण सभासँगसँगै महासंघ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय विकास परिषद् र इन्नो रेग इण्डियाको संयुक्त आयोजनामा भक्तपुर सल्लाघारी मैदानमा नेपाल बिल्डटेक एक्स्पो २०२० पनि शुरु भएको छ । निर्माण उपकरण, इन्टेरियर डिजाइनका सामाग्री, फर्निचर सहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित् १ सय ६० भन्दा बढी प्रदर्शनी कक्षहरु कुल ७० हजार स्क्वाएर फिट क्षेत्रफलको एक्स्पोमा रहेको छ । तीन दिने एक्स्पोको सहयोगी साझेदारहरुको रुपमा नेपाल उद्योण वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर आफ कर्मश लगायतका संस्थाहरु रहेका छन् । नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ कन्सलटिङ आर्किटक्चरल एण्ड इन्जिनियरिङ फर्मस् (स्काफ नेपाल), नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्स (वाइसीएनसी), सोसाइटी अफ नेपलिज आर्किटेक्चर्स (सोना), एल्मोनियम व्यवसायी संघ नेपाल, नेपाल फर्निचर संघ, स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल, र भारतको राजकोट हार्डवयर म्यानफ्याक्चर एसोसिएसन पनि एक्स्पोका सहयोगी साझेदार संस्था रहेका छन् । महासंघले आफ्नो इतिहासमा नै पहिलो पटक अन्तर्रा्ष्ट्रिय स्तरको नेपाल बिल्डटेक एक्स्पो २०२० आयोजना गरेको हो ।