• गृहपृष्ठ
  • जिल्ला प्रहरी कार्यालय चितवनस्थित कानूनी तथा मनोसामाजिक परामर्श केन्द्र उद्घाटन

जिल्ला प्रहरी कार्यालय चितवनस्थित कानूनी तथा मनोसामाजिक परामर्श केन्द्र उद्घाटन

Jan 18th, 2020

चितवन, माघ ४

जिल्ला प्रहरी कार्यालय चितवनस्थित कानूनी तथा मनोसामाजिक निशुल्क परामर्श केन्द्रको शुक्रबार आयोजित एक कार्यक्रमबीच उद्घायटन भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संयुक्त रुपमा उक्त भवनको उद्घाघटन गर्नुभएको हो ।
लागूऔषध प्रयोग, रोकथाम र नियन्त्रणका लागि नेपाल प्रहरी र भरतपुर महानगरपालिकाको सहकार्यमा उक्त केन्द्रको उद्घाटन गरिएको हो ।

कार्यक्रममा चितवन महानगरपालिका प्रमुख रेणु दाहालले देशको मुख्य भागको रुपमा रहेको चितवनमा स्थापित परामर्श केन्द्रलाई निरन्तर रुपमा संचालन गर्न महानगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भरतपुर महानगरपालिकाले लागूऔषध नियन्त्रण र महिला हिंसा नियन्त्रणका लागि प्रहरीसँग समन्वय गरी विभिन्न सामाजिक कार्यहरु गर्दै आएको समेत उहाँले बताउनुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले परामर्श केन्द्र स्थापना हुनु उत्कृष्ट कार्य भएको उल्लेख गर्दै लागूऔषधको सेवनले घर, समाज र देशलाई नै नकारात्मक असर पार्ने भएकोले सबैले सहकार्य गरी यसको नियन्त्रण गर्नुपर्ने बताउनुभयो । समाजमा समस्याको रुपमा रहेको लागूऔषध दूर्व्यसनी र ओसारपसार नियन्त्रणका लागि कानुनको कार्यान्वयन गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको उहाँले चर्चा गर्नुभयो । लागूऔषध कुलतमा परेका व्यक्तिहरुलाई कानुनी कारबाहीको साथै परामर्श समेत आवश्यक रहेको अवस्थामा केन्द्रको स्थापनाले लागूऔषध नियन्त्रण गर्न सहयोग पुग्ने विश्वाहस उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई र सामुदायिक सेवा केन्द्र नारायणगढकी अध्यक्ष मिना खरेलले परामर्श केन्द्रको महत्व बारे आ(आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रहरी बरिष्ठ उपरीक्षक बसन्त लामाले केन्द्रको आवश्यकता र औचित्य सम्बन्धि मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा चितवन जिल्लाका माननीय जिल्ला न्यायाधिश, प्रहरी नायव महानिरीक्षकहरु, जिल्ला स्थित सुरक्षा निकाय प्रमुखहरु, प्रहरी अधिकृतहरु, स्थानीय निकायका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत स्थानीय भद्रभलादमी एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।