• गृहपृष्ठ
  • कृषि उत्पादन समृद्धिको आधार– मन्त्री थापा

कृषि उत्पादन समृद्धिको आधार– मन्त्री थापा

Jan 18th, 2020

पोखरा, ४ माघ (रासस)

गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले कृषि उत्पादन समृद्धिको आधार भएको बताउनुभएको छ ।गण्डकी प्रदेशस्तरीय व्यावसायिक च्याउ उत्पादक कृषि सञ्जालद्वारा शुक्रबार पोखरामा आयोजित च्याउखेतीको अवसर तथा चुनौती विषयक सरोकारवालाबीच अन्तक्र्रिया एवं च्याउ परिकार महोत्सवमा उहाँले कृषि क्षेत्र सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

कम लगानीमा बढी उत्पादन गर्न आधुनिक प्रविधि प्रयोग गरेर व्यावसायिक कृषिमा लाग्न कृषकलाई आग्रह गर्दै मन्त्री थापाले आवश्यक प्रविधि सहयोग, भण्डारण र बजारीकरणमा सरकारको सहयोग रहने बताउनुभयो । प्रदेशसभा सदस्य दीपक कोइरालाले कृषि क्षेत्रलाई तीनै तहका सरकारले प्राथमिकतामा राखेर उत्पादनमा समेत वृद्धि हुँदै गएको वर्तमान अवस्थामा उन्नत जातको बीउ र बजारको व्यवस्था राज्यबाट हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री केशवलाल श्रेष्ठले नेपालमा च्याउखेती र यसको भविष्य विषयक कार्यपत्र प्रस्तुत गर्दै मुलुकका ४२ जिल्लामा व्यावसायिक च्याउखेती हुँदै आएको जानकारी दिनुभयो । च्याउ सेवनले दीर्घजीवन दिने बताउँदै उहाँले यसको विकास र विस्तारका लागि सहकरीस्तरबाट पहल गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा च्याउ विशेषज्ञ टीकाराम अर्यालले मुलुकको समृद्धिका लागि व्यावसायिक च्याउखेती आवश्यक रहेको बताउँदै दैनिक च्याउ सेवनले क्यान्सर, मुटुरोग, मिर्गौला, सुगरलगायत विभिन्न रोगसँग जुध्ने शक्ति प्रदान गर्ने बताउनुभयो । महोत्सवमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका कृषकद्वारा उत्पादित विभिन्न जातका च्याउको मम, सुप, अचार, सेकुवा, पकौडा, कुकिज, सुकुटीलगायत परिकारको आकर्षण रहेको थियो ।