• गृहपृष्ठ
  • बाह्रबिसे बजारमा नगरपालिकाले घर भत्काउँदा झडप

बाह्रबिसे बजारमा नगरपालिकाले घर भत्काउँदा झडप

Jan 18th, 2020

मेलम्ची, ४ माघ (रासस)

बाह्रबिसे बजारमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा नगरपालिकाले भत्काउँदा झडप भएको छ । नगरपालिकाले डोजर प्रयोग गरेर अतिक्रमण गरेर बनाएका बजारका घर टहरा बिहान ८ बजेबाट भत्काउन शुरु गरेको थियो ।

टहरा भत्काउने क्रममा बाह्रबिसेको खुर्सानीबारीमा झडप भएको प्रत्यक्षदर्शीले जानकारी दिए । यसअघि भत्काउन पटकपटक सार्वजनिक सूचना जारी गर्दा स्थानीयले घर टहरा नहटाएकाले डोजर प्रयोग गरिएको नगरपालिकाले जनाएको छ । अहिले नगरपालिकाका प्रमुखसहित जनप्रतिनिधि, कर्मचारी, प्रहरीको उपस्थितिमा घर टहरा भत्काइएको हो ।

बजार कुरूप देखिने र सडक साँघुरो हुँदा दुर्घटना हुनसक्ने सम्भावना भएकाले अतिक्रमण गरेर बनाइएका घर टहरा हटाइएको नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिनुभयो ।

सडक फराकिलो बनाउँदा जाम नहुने र दुर्घटना न्यूनीकरणमा सहयोग हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक राजेशकुमार दाहालले बताउनुभयो । बजार क्षेत्र साँघुरो हुँदा जामको समस्या भएको उहाँको भनाइ थियो ।