• गृहपृष्ठ
  • कर्णालीमा दलितको अवस्था दयनीय : मन्त्री भण्डारी

कर्णालीमा दलितको अवस्था दयनीय : मन्त्री भण्डारी

Jan 18th, 2020

सुर्खेत, ४ माघ (रासस)

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीमा दलितहरुको अवस्था दयनीय रहेको बताउनुभएको छ ।

राष्ट्रिय दलित पत्रकार सङ्घ कर्णाली प्रदेशद्वारा शुक्रबार यहाँ आयोजित ‘कर्णाली प्रदेशस्तरीय दलित पत्रकार भेला’ कार्यक्रमको उद्घाटन गर्दै कानूनमन्त्री भण्डारीले दलितहरुले मान्छे भएर जीउन नपाएको उल्लेख गर्नुभयो । “मुलुकमा नयाँ व्यवस्था ल्याउन दलित जातिको ठूलो योगदान छ,” उहाँले भन्नुभयो, “यद्यपि नयाँ व्यवस्थामा पनि उनीहरु अमानवीय व्यवहारको शिकार हुनुपरिरहेको छ ।” दलित जातिको यही अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारले दलितमैत्री कानून ल्याउन लागेको उहाँको भनाइ थियो । कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले मानव भएर पनि मानवका रुपमा व्यवहार नगरिनु अन्याय भएको बताउनुभयो ।

त्यसैगरी, कर्णाली प्रदेशसभा सत्तापक्षका सचेतक सीताकुमारी नेपालीले जातीय विभेद् समाजको कलङ्क भएको टिप्पणी गर्नुभयो । “सूचना र प्रविधिको चरम विकास भइरहेको २१औँ शताब्दीमा नेपाली समाज विद्यमान विभिन्न विभेद्बाट मुक्त हुन सकेको छैन,” उहाँले भन्नुभयो, “यो राज्य समृद्धि, शान्ति र विकासको बाधक हो ।”

राष्ट्रिय दलित पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष विनोद पहाडीले जातीयरुपमा समाज विभाजित देखिए पनि सञ्चारकर्मी कहिल्यै दलित नहुने तर्क गर्नुभयो । अध्यक्ष पहाडीले भन्नुभयो, “आजको व्यवस्था ल्याई पु¥याउनुमा दलितहरुले जीवन उत्सर्ग गरेका छन् । यद्यपि त्यसको कुनै लेखाजोखा छैन ।” उक्त भेलामा कर्णाली प्रदेशका १० जिल्लाका प्रतिनिधि, पर्यवेक्षक र सहभागीसहित १३० जनाको उपस्थिति रहेको सङ्घका केन्द्रीय सदस्य टेकेन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।