पाँचखालको तरकारी ‘सुरक्षित उत्पादन’

Jan 17th, 2020

– राजकुमार पराजुली
काभ्रेपलाञ्चोक, ३ माघ (रासस)

पाँचखाल नगरपालिका–७ श्रीरामपाटीका किसान सरस्वती दाहालले आफ्नो तरकारीबालीमा रासायनिक विषादी छर्न छोड्नुभयो । जाडो याममा विशेषगरी बालीमा ढुसी लागेमा मात्रै कृषि प्राविधिकको सल्लाहमा विषादी छर्ने गरेको उहाँ बताउनुहुन्छ ।

“विषादी हाल्न छाडेको एक वर्षै भइसक्यो, कहिलेकाहीँ बालीमा ढुसी लागेमा मात्रै हाल्ने गरेका छौँ, त्यो पनि प्राविधिकको सल्लाहमा” दाहालले भन्नुभयो । यो वर्ष काउली र गोलभेँडामा रासायनिक विषादी नहाली उत्पादन गरिएको उहाँले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “बालीमा समस्या आए, फोन गरेलगत्तै कृषि प्राविधिक आउनुहुन्छ र उहाँको सल्लाहमा मात्रै हामी विषादी छर्छौँ ।” विषादी प्रयोग गरेपछि प्राविधिकले दिएको समयअनुसार मात्रै तरकारी बजार लैजाने गरिएको उहाँले बताउनुभयो ।

सोही वडाका शशीकला ढकालले पनि यो वर्ष काउली र आलु बालीमा रासायनिक विषादी हाल्नुभएको छैन । उहाँ भन्नुहुन्छ, “यस वर्ष बालीमा विषादी छरेका छैनौँ, छर्नै परे प्राविधिकको सल्लाहमा छरेर टिप्ने समयपछि मात्रै बजार लैजान्छौँ ।” पाँचखाल नपा–६ का किसान सीताराम दुलाल र केदार ढुङ्गाना तथा पाँचखाल नपा–७ का शिवराज श्रेष्ठ पनि रासायनिक विषादीको विकल्पमा आफैँ जैविक विषादी बनाएर बालीमा हाल्ने गरेको बताउनुहुन्छ । “स्थानीयस्तरमा उपलब्ध जडीबुटीबाट जैविक विषादी तयार गरेर बालीमा प्रयोग गर्दा स्वस्थकर र उत्पादन लागत कम हुनेगरेको छ”, ढुङ्गानाले भन्नुभयो । उहाँ आफैँ आफ्नो खेतबारीको माटो परीक्षणसमेत गर्नुहुन्छ ।

श्रेष्ठले आफ्नो २० रोपनी खेतबारीमा जैविक विषादी प्रयोग गरी जैविक तरकारी ९सुरक्षित उत्पादन० उत्पादन गरिरहनुभएको छ । उहाँले ‘लव ग्रीन’ नेपालद्वारा सञ्चालित एकीकृत शत्रुजीव व्यवस्थापन प्रविधि ९आइपिएम० कक्षामा जैविक विषादी बनाउन तथा गोठसुधार गरी पशुमुत्र सङ्कलन गरी बालीमा प्रयोग गरिरहेको बताउनुभयो । उक्त संस्थाले पाँचखालका २३ स्थानमा १८ महिने आइपिएम कक्षा सञ्चालन गरी जैविक विषादी प्रयोगबारे करीब सात सय किसानलाई तालीम दिइसकेको छ । पाँचखालका किसान आइपिएम कक्षामा सिकेर आफैँले तयार गरेको जैविक विषादी प्रयोग गर्न थालेपछि पाँचखाल क्षेत्रका तरकारीबालीमा रासायनिक विषादी प्रयोगमा सचेत बन्दै न्यूनीकरणतर्फ लागेका हुन् ।

पाँचखालमा हाल उत्पादित तरकारीजन्य बाली विषादी रुकावट अवशेषको मापदण्डभित्रै रहेकाले ‘सुरक्षित उत्पादन’ भन्न थालिएको पाँचखाल नपा कृषि शाखाका कृषि प्राविधिक ईश्वर अधिकारीले बताउनुभयो । “नियमित परीक्षणबाट मापदण्डभन्दा निकै कम प्रतिशत देखिएकाले पाँचखालको तरकारी प्राविधिक हिसाबले ‘सुरक्षित उत्पादन’मा पर्दछ” उहाँले भन्नुभयो ।

कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकका प्रमुख डा जनार्दन खड्का पाँचखालका किसानले रासायनिक विषादी न्यूनीकरण गर्दै जैविक विषादी प्रयोगमा लागेकोमा वातावरण प्रदूषण तथा मानव स्वास्थ्यमा पर्ने असर कम हुँदै जाने बताउनुहुन्छ । “किसानहरू पाँचखालको तरकारीमा विषादी बढी हुन्छ भन्ने आफुहरुमाथि लाग्ने आरोप जैविक विषादीको प्रयोगबाट चिर्ने अभियानमा हुनुहुन्छ, उहाँहरुलाई हामीहरुले साथ दिएका छौँ”, उहाँले भन्नुभयो ।

खड्काले केन्द्रमा रहेको प्रयोगशाला ९रेपिड बायो एसे पेस्टिसाइड रेजिड्यू–आरबीपिआर ल्याब०मा आफूले उत्पादन गरेको तरकारीको विषादी अवशेषको मात्र परीक्षण गर्न ल्याउन पनि सबैमा आग्रह गर्नुभएको छ । केन्द्रमा गत भदौ महिनादेखि काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानको तरकारीको नमूना सङ्कलन गरी नियमित परीक्षण गरिन्छ । डा खड्काले भन्नुभयो, “सङ्कलित नमूनाको विषाद रुकावट अवशेष परीक्षण÷मापन गर्दा सुरक्षित मापदण्डभित्र रहँदै आएको छ ।”

केन्द्रको परीक्षणबाट गत भदौ अन्तिमसाता तरकारीमा विषादीको रुकावट प्रतिशत ९इमिसन रेट० तीनदेखि नौ प्रतिशतसम्म झरेको थियो भने हाल १० देखि २० इमिसन रेटसम्मका तरकारी उत्पादन भइरहेका छन् । वाग्मती प्रदशेको विषादी अवशेष द्रुत विश्लेषण कार्यविधि, २०७५ ले ३५ देखि ४५ प्रतिशतसम्म देखिएमा ४–५ दिन क्वारेन्टाइनमा राखेर पुनःपरीक्षणमा ३५ प्रतिशतभन्दा कम नतिजा आएमा खानयोग्य हुने र ४५ प्रतिशतभन्दा बढी ‘इन्हिविसन’ आएमा उक्ति कृषि उपजलाई खान अयोग्य मानेर नष्ट गर्नुपर्ने उल्लेख गरिएको छ । वाग्मती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले काभ्रेपलाञ्चोसहित प्रदेशका चितवन, मकवानपुर, ललितपुर र नुवाकोट जिल्लामा आरबीपिआर ल्याब स्थापना गरेको छ ।