• गृहपृष्ठ
  • चिसोले जाजरकोट र रुकुम पश्चिमका विद्यालय र सरकारी कार्यालय प्रभावित

चिसोले जाजरकोट र रुकुम पश्चिमका विद्यालय र सरकारी कार्यालय प्रभावित

Jan 17th, 2020

जाजरकोट, ३ माघ (रासस)

निरन्तर तीन दिनदेखि परेको अविरल वर्षा तथा हिमपातका कारण जाजरकोट र रुकुम पश्चिमका विद्यालय तथा सरकारी कार्यालयको काम प्रभावित भएको छ ।

सरकारी कार्यालयको सेवासमेत चिसोका कारण प्रभावकारी रुपमा दिन नसकिएको स्थानीय सरकारका प्रमुखले बताएका छन् । यहाँका सात स्थानीय तह र रुकुम पश्चिमका सबै स्थानीय तहको काम प्रभावकारी बन्न सकेको छैन । जिल्लाका सयभन्दा बढी सामुदायिक विद्यालय, एक दर्जन निजी विद्यालय, सदरमुकाममा रहेका दर्जन कार्यालयमा चिसोले सेवा प्रवाहमा समस्या भएको हो ।

जाजरकोट–डोल्पा सडकखण्डभित्र सञ्चालनमा रहेका सबै यातायातका साधन अविरल वर्षाका कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै सातै स्थानीय तहमा जाने र आउने यातायातका साधन प्रभावित भएका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । जाजरकोटदेखि नेपालगञ्ज तथा सुर्खेत जाने यातायातका साधन भने सञ्चालनमा रहका उहाँले बताउनुभयो ।

भारी हिमपात र चिसोका कारण ग्रामीण क्षेत्र तथा सदरमुकाममा दाउराको माग बढेको छ । नलगाड नगरपालिका–८ स्थित पंञ्च भयार माविका शिक्षक वीरबहादुर खत्रीले चिसोले पशुचौपाया जङ्गल लैजान नसकेका र वृद्ध, बालबालिका बढी प्रभावित भएका बताउनुभयो ।