• गृहपृष्ठ
  • मुख्यमन्त्री गुरुङद्वारा दुर्घटनामा निधन हुनुभएका प्रहरीप्रति दुःख व्यक्त

मुख्यमन्त्री गुरुङद्वारा दुर्घटनामा निधन हुनुभएका प्रहरीप्रति दुःख व्यक्त

Jan 17th, 2020

पोखरा, ३ माघ (रासस)

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा बुधबार भएको दुर्घटनामा निधन हुनुभएका प्रहरीप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

माघेसङ्क्रान्ति मेलाको सुरक्षामा खटिएर फर्कदै गरेको बा १ ग २८११ नम्बरको भ्यान सो स्थानमा दुर्घटना हुँदा प्रहरी जवान सन्दीप केसीको निधन हनुका साथै अन्य ३० जना प्रहरी घाइते भएका थिए । मुख्यमन्त्री गुरुङले बिहीबार जारी गर्नुभएको शोकवक्तव्यमा गाडी दुर्घटनामा परी प्रहरी जवान केसीको निधन र अन्य प्रहरी घाइते भएको खबरले आफूलाई दुःखित बनाएको उल्लेख छ । मृतक प्रहरी जवानको परिवारप्रति समवेदना व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले घाइते प्रहरीको शीघ्रस्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।

घाइतेको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिनुभयो । यसैगरी बिहीबार तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ र गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद शर्मा घिमिरेले दुर्घटनास्थलको निरीक्षण गर्नुभएको छ ।