• गृहपृष्ठ
  • बागलुङ जिल्लाको दुर्गम गाउँ खोलाखर्कमा बल्यो बत्ती

बागलुङ जिल्लाको दुर्गम गाउँ खोलाखर्कमा बल्यो बत्ती

Jan 16th, 2020

गलकोट, २ माघ (रासस)

बागलुङ जिल्लाको दुर्गम गाउँ बरेङ गाउँपालिकाका–१ मा विद्युत् पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । धावा, मजुवा, टोड्के र खोलाखर्कको ३६ घरमा बिजुली बत्ती बलेपछि खुशीको कुनै सीमा नरहेको हो ।

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्र प्रमुख शिवनारायण गोशलीले बरेङ गाउँपालिकाका–१ मा केन्द्रीय प्रसारण लाइन जोडिएको र विद्युतीकरण सम्पन्न भएको जानकारी दिनुभयो । गाउँपालिका–१ का वडाध्यक्ष नरसिंह पुनले भन्नुभयो, “केन्द्रीय विद्युत् आएसँगै यहाँका जनताले ठूलो राहत महसुस गरेका छन् ।”

अहिले बरेङ गाउँपालिका अन्य वडामा समेत धमाधम विद्युतीकरण जारी रहेको छ । पाँच वडामध्ये २ र ५ नं वडाका सबै घरमा केन्द्रीय विद्युत् पुगेकोे छ । आगामी वर्षसम्म गाउँपालिकाका सबै वडामा विद्युतीकरण गर्ने जनाइएको छ । रु १८ लाख ५० हजारको लागतमा २५ किलोवाट क्षमताको ट्रान्सफर्मरबाट ती ३६ घरमा विद्युतीकरण गरिएको हो ।

बरेङसहित ताराखोला, ढोरपाटन र बडिगाड गाउँपालिकामा धमाधम विद्युतीकरणको काम चलिरहेको विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख गोशलीका अनुसार जिल्लाकोे करीब ४५ प्रतिशत घरमा मात्र केन्द्रीय विद्युत्को पहुँच पुगेको छ ।
आगामी वर्षभित्र २५ देखि २० प्रतिशत थप गर्ने गरी विद्युतीकरणको काम भइरहेको छ । निसीखोला र तमानखोलामा केन्द्रीय विद्युत् विस्तार हुनसकेको छैन ।