• गृहपृष्ठ
  • पुटिनद्वारा कानून सुधारको घोषणा, सहयोगका लागि रुसी प्रधानमन्त्रीद्वारा राजीनामा

पुटिनद्वारा कानून सुधारको घोषणा, सहयोगका लागि रुसी प्रधानमन्त्रीद्वारा राजीनामा

Jan 16th, 2020

मस्को, २ माघ (रासस/एएफपी)

राष्ट्रपति भ्लादिमीर पुटिनले वर्तमान् संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि रुसका प्रधानमन्त्री दिमित्री मेदवेदेवले बुधबार राजीनामा दिनुभएको छ ।

रूसी राष्ट्रपतिसँग टेलिभिजनमार्फत् भएको सम्वोधनमा मेदवेदेवले नयाँ सुधार प्रस्तावहरूले देशको शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन गर्ने बताउनुभएको छ ।

सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसदलाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रीपरिषद् सदस्यहरू छनौट गर्ने अधिकार समावेश गरिएको बताइएको छ ।

प्रधानमन्त्रीले भन्नुभयो, “वर्तमान स्वरूपमा रहेको सरकार प्रमुखका हैसियतमा मैले पदबाट राजिनामा गरेको छु । हामीले राष्ट्रपतिलाई सबै आवश्यक कदम चाल्ने सम्भावना प्रदान गर्नुपर्दछ ।” प्रधानमन्त्रीका अनुसार सुधारका आगामी सबै निर्णय राष्ट्रपतिले लिनुहुनेछ ।

उक्त अवसरमा लामो समयदेखि सहयोगी भूमिका खेल्दै आएका मेदवेदेवलाई नयाँ सरकार नबनाएसम्म सरकार प्रमुखको रूपमा काम गरिरहन पुटिनले आग्रह गर्नुभएको छ । “मैले प्रधानमन्त्रीका रूपमा तपाईँले गरेका सबै कुराका लागि तपार्इँलाई धन्यवाद दिन चाहन्छु, यस क्रममा उपलब्धि हाँसिल गरेका नतिजाहरूप्रति आभारी छु,” पुटिनले भन्नुभयो ।

उहाँले सुरक्षा परिषद्को उप–प्रमुखको पद पनि प्रस्तावित गर्नुभएको छ भने यसको नेतृत्वका लागि मेदवेदेवलाई नै सुझाव दिनुभएको छ ।

एक हप्ता पहिले पुटिनले संसदको भूमिका सुदृढ पार्ने रूसको संविधानमा सुधारको प्याकेजमा जनमत संग्रहको प्रस्ताव गर्नुभएको थियो ।