• गृहपृष्ठ
  • देशको ध्यान खेलकूदमा आकर्षित भएको छ : मन्त्री विश्वकर्मा

देशको ध्यान खेलकूदमा आकर्षित भएको छ : मन्त्री विश्वकर्मा

Jan 15th, 2020

कास्की, १ माघ (रासस)

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता(साग)ले देशको गौरव बढाएको बताउनुभएको छ । कास्कीको माछापुछ्रे गाउँपालिका–४ लाहाचोकमा आजदेखि शुरु भएको ‘माछापुछ्रे  त्रिशक्ति युनाइटेड कप’ गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा उहाँले साग खेलकूदको सफलतासँगै नेपाल र नेपालीको प्रतिष्ठा, इज्जत र गरिमा अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित भएको बताउनुभयो ।

पछिल्लो समयमा खेलकूदबाट सिङ्गो देशको प्रतिष्ठा माथि उठेको महसुस भएको बताउँदै मन्त्री विश्वकर्माले भन्नुभयो, “सम्पूर्ण देशको ध्यान फेरि एक पटक खेलकूद क्षेत्रप्रति आकर्षित भएको छ । खेलकूदको विकासका लागि सबैतिरबाट चासो, अभिरुचि बढेर गएको छ ।”

खेल क्षेत्रको विकास र विस्तारका लागि सरकारले नयाँ ढङ्गबाट सोचेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले ७५३ वटै पालिकामा एक/एक वटा दीर्घकालीन महत्वको स्थानीय तहको रङ्गशाला बनाउने योजना बजेट कार्यक्रममा उल्लेख गरिएकाले यसै महिनाबाट काम शुरु हुने जानकारी दिनुभयो । मन्त्रालयले प्रत्येक खेलग्राम निर्माणका लागि रु ५० लाख बजेट विनियोजन गरेको जानकारीसमेत दिनुभयो ।

सङ्घ र प्रदेश सरकारबाट चालू वर्षमा इतिहासमै पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र रहेको कास्की–३ मा शिक्षा, स्वास्थ्य तथा खेलकूदलगायतका विषयमा सर्वाधिक बजेट विनियोजन भएकाले समयमै निर्माण सम्पन्न गर्नुपर्नेमा मन्त्री विश्वकर्माले जोड दिनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले सागको सफलताबाट विश्वले आँखा खोलेर हेर्ने स्थानमा नेपाल रहेको बताउँदै यहाँको पर्यटन प्रवद्र्धनमा समेत सघाएको भनाइ राख्नुभयो ।

गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले लाहाचोकको खेलमैदान गाउँपालिका र खेलकूदको केन्द्र बन्ने सम्भावना रहेको औँल्याउनुभयो । अखिल नेपाल फुटबल सङ्घका उपाध्यक्ष कृष्ण थापाले माछापुच्छे«को भेँडाबारीमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्राविधिक केन्द्र बनाउन लागेको जानकारी जानकारी दिनुभयो ।

भिजन लुम्बिनीका अध्यक्ष जगत पोखरेलले युवालाई रोजगारी तथा लगानीमा जोड्ने उद्देश्यले सेती नदीमा २५ मेघावाट जलविद्युत् आयोजना निर्माण शुरु गर्न लागिएको जानकारी दिँदै सहयोगका लागि आग्रह गर्नुभयो ।

यही माघ ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकीका विभिन्न जिल्लाबाट गरी १२ टोलीको सहभागिता रहेको छ । माछापुछ्रे  त्रिशक्ति क्लब र बागलुङ जिल्ला फुटबल सङ्घबीच आज भएको उद्घाटन खेलमा आयोजक त्रिशक्ति क्लब विजयी भएको छ ।

निर्धारित समयमा दुवै टोलीबाट एक÷एक गोल भएपछि पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले बागलुङलाई आयोजक टोलीले पराजित गरेको हो । प्रतियोगिताको विजेताले रु एक लाख ५५ हजार ५५५, ट्रफी तथा उपविजेताले रु ७७ हजार ७७७ पुरस्कार तथा ट्रफी प्राप्त गर्ने क्लबका अध्यक्ष नीरज शाहीले जानकारी दिनुभयो ।

उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, र सर्वाधिक गोलकर्तालाई समेत नगद पुरस्कार प्रदान गरिने बताइन्छ ।