सभामुख चयन अविलम्ब हुनुपर्छ : देउवा

Jan 15th, 2020

विराटनगर, १ माघ (रासस)

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभामुखको चयन अविलम्ब गर्नुपर्ने बताउनुभएको । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उहाँले संसद्लाई अनिर्णयको बन्दी नबनाउन आग्रह गर्दै आफ्नो पार्टीलाई सभामुख दिएमा संसद् व्यवस्थित र मर्यादितरूपमा सञ्चालन गरिने जिकिर गर्नुभयो ।

सभापति देउवाले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्र आन्तरिक विवादका कारण सभामुखको चयनमा ढिलाइ भएको प्रसङ्ग उल्लेख गर्दै सो पार्टीभित्र गुटउपगुट रहेको जनताले प्रष्टरूपमा थाहा पाएको बताउनुभयो ।

उहाँले संसद्को गतिरोध हटाउन चाँडै संसदीय दलको बैठक बोलाउने र त्यसबाट ठोस निर्णय लिने जानकारीसमेत दिनुभयो । सभापति देउवाले संवैधानिक प्रावधानअनुसार प्रदेशमा सभामुख वा उपसभामुखमध्ये एक पद पाउनुपर्ने हो तर संविधानविपरीत कार्य भएकाले अविलम्ब सच्याउनुपर्नेमा जोड दिनुभयो ।

एक प्रश्नको जवाफमा सभापति देउवाले बहुचर्चित एमसिसीलाई नेपाली काँग्रेसले पहिला नै समर्थन गरिसकेको र सरकारले पास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीको महाधिवेशनको मिति कुनै पनि हालतमा परिवर्तन नहुने बताउँदै पार्टीभित्र रहेका केही सामान्य समस्या समाधान गर्दै सङ्गठन बलियो बनाउने जिकिर गर्नुभयो ।