• गृहपृष्ठ
  • सुदृढ एकता र सहिष्णुताको पूँजीलाई देश निर्माणमा सदुपयोग गर्न प्रमको जोड

सुदृढ एकता र सहिष्णुताको पूँजीलाई देश निर्माणमा सदुपयोग गर्न प्रमको जोड

Jan 15th, 2020

काठमाडौँ, १ माघ (रासस)

प्रधानमन्त्री केपी शर्मा ओलीले थारु समुदायको प्रमुख चाड माघी तथा नेपालका सबैजसो भूभागमा मनाइने माघेसङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश भएको र यहाँ प्रचलित बहुमूल्य सम्पत्तिका रुपमा रहेका पर्वलाई सरकारले संरक्षण गर्दै आएको बताउँदै प्रधानमन्त्री ओलीले सुदृढ एकता र सहिष्णुताको यस पूँजीलाई देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलार्धमा प्रवेश गर्ने समयमा हरेक वर्षको माघ १ गते देशका विभिन्न भागमा विभिन्न तरिकाले यो पर्व मनाइने गरिन्छ ।

माघी पर्वका अवसरमा उहाँले दिनुभएको सन्देशमा भनिएको छ, “हाम्रो देशका हरेक जातिले मनाउने मौलिक पर्वहरु यहाँको प्राचीन संस्कृतिसँग मात्र होइन, प्राकृतिक विज्ञानसँग पनि सम्बन्धित छन् । यी पर्वहरुले हामीलाई परस्पर सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आबद्ध गरेका छन् । माघे सङ्क्रान्तिमा मासको दाल र चामल मिसाइएको खिचडी, घिउ–चाकु–तिलको लड्डु, सागपात, तरुल खाने चलन छ । जाडो याममा शरीरलाई तातो राख्ने पोषिला परिकार खाने तथा नदी किनार तथा त्रिवेणीहरुमा स्नान गर्ने यस पर्वको विशेषता शरीर विज्ञानका हिसाबले पनि उपयोगी छ । माघीलाई थारू जातिको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । पुस मसान्तमा घरघरमा माछामासु र ढिकरी ९पिठोको एक परिकार०खाई रातभर मघौटा नाच नाच्ने चलन छ ।”