• गृहपृष्ठ
  • निकुञ्ज ऐन परिमार्जन हुँदै छः अध्यक्ष दाहाल

निकुञ्ज ऐन परिमार्जन हुँदै छः अध्यक्ष दाहाल

Jan 14th, 2020

चितवन, २९ पुस (रासस)

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विसं २०२९ मा बनेको निकुञ्ज ऐन परिमार्जन हुने क्रममा रहेको बताउनुभएको छ । माडी नगरपालिकाको आयोजना तथा थारु कल्याणकारिणी सभा क्षेत्र नं १ माडी र आदिवासी जनजाति महासङ्घ नगर समन्वय समिति माडीको सहआयोजनामा आजदेखि माडीमा शुरु भएको प्रथम खिचरा महोत्सवको उद्घाटन गर्दै उहाँले चितवन राष्ट्रिय निकुञ्ज र जनताबीच द्वन्द्व बढेको तर मौजूदा ऐनले वन्यजन्तुको सुरक्षामा ध्यान दिए पनि मानिसको सुरक्षामा ध्यान नदिएका कारण ऐन संशोधन गर्नुपरेको स्पष्ट गर्नुभयो ।

सो अवसरमा नेता दाहालले आइडिया फर नेपालअन्तर्गत एनआर एन एण्ड पार्टनर्स कम्पनीद्वारा ५० बिघा जमीनमा सञ्चालन गर्न लागिएको फलफूलखेती र रिसोर्टको पनि शिलान्यास गर्नुभएको थियो । पूर्वप्रधानमन्त्री दाहालको माडीलाई ‘मणि’ बनाउन आफ्नै पहलमा विभिन्न परियोजना अघि बढिरहेको बताउँदै माडीकै सम्मानका लागि राष्ट्रियसभामा यहाँको प्रतिनिधित्व गराउन आफ्नै पहलमा गङ्गा बेलवासेलाई उम्मेदवार बनाइएको जानकारी दिनुभयो । माघ ६ गतेसम्म चल्ने महोत्सवमा एक सय कक्ष छन् ।