• गृहपृष्ठ
  • भेरी करिडोर : पासागाड–रिम्ना सडक कालोपत्र प्रक्रिया शुरु

भेरी करिडोर : पासागाड–रिम्ना सडक कालोपत्र प्रक्रिया शुरु

Jan 14th, 2020

– हेमन्त केसी
जाजरकोट, २९ पुस (रासस)

अस्थायीरूपमा ट्र्याक खुलेर यातायात सञ्चालन हुन थालेको १४ वर्षपछि पासागाड–रिम्ना सडकखण्डको कालोपत्र गर्ने कार्य शुरु भएको छ । भेरी करिडोरअन्तर्गत पर्ने जिल्ला सदरमुकामको पासागाडबाट रिम्नासम्मको पहिलो चरणमा कालोपत्रको काम शुरु गरिएको सडक डिभिजन कार्यालय चौरजहारीले जनाएको छ । आज डिभिजन कार्यालयले बोलपत्र आह्वान गरेर कामको शुरुआत गरेको हो ।

जाजरकोटको पासागाडबाट डोल्पासम्म पर्ने भेरी करिडोरअन्तर्गत बहुवर्षे ठेक्कामार्फत काम शुरु गरिएको छ । पहिलो चरणमा पासागाड–रिम्ना सडकखण्डको काम शुरु गर्ने प्रक्रिया अगाडि बढेको छ भने दोस्रो चरणमा रिम्ना–चिसापानी हुँदै तल्लुसम्मको काम शुरु हुने सडक डिभिजन कार्यालयले जनाएको छ । छिन्चु–जाजरकोट सडकखण्डमा पासागाडसम्म कालोपत्र भएकाले त्यहाँबाट रिम्नासम्म पहिलो चरणमा कालोपत्र गर्न लागिएको हो ।

भेरी करिडोरअन्तर्गत सडकको स्तरोन्नतिसँगै कालोपत्र गर्ने काम यो आर्थिक वर्षबाट शुरु भइसकेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । मन्त्री बस्नेतको भेरी करिडोरमा तत्काल कालोपत्र गर्ने चुनावी नारासमेत रहेको थियो । अस्थायी ट्र्याक खोलेको १४ वर्षसम्म सडकको स्तरोन्नति नहुँदा यस सडकखण्डमा यात्रा गर्ने यात्रुले सास्ती भोग्दै आएका थिए ।

जाजरकोट–डोल्पा सडकखण्डकको मुख्य भाग रहेको यस खण्डमा कच्ची तथा साँघुरो सडक हुँदा आधा दर्जन दुर्घटनासमेत भइसकेका छन् । वर्षायाममा वर्षेनी अवरुद्ध हुँदै आएको यस खण्डमा हिउँदयाममा मात्र यातायातका साधन सञ्चालन हुने गरेका छन् । अठ्ठाइस किलोमिटर सडक पहिलो चरणमा काम हुने छ । बहुवर्षे ठेक्काअनुसार काम पूरा गर्दै अगाडि बढ्दै जाने लक्ष्यका साथ काम शुरु भएको मन्त्री बस्नेतले जानकारी दिनुभयो ।

कालोपत्रसँगै पुल निर्माण शुरु

भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा पुल निर्माणकार्यसमेत शुरु गरिएको छ । जाजरकोटतर्फको नलगाड नदीमा डिपिआरको काम सकेर बोलपत्र आह्वान गर्ने चरणमा पुगेको छ । त्यस्तै रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको बाँकेज्यूलामा पुल निर्माणकार्य अगाडि बढेको छ । भेरी नदीमा ठूला पुल निर्माणका लागि डिपिआरको काम अन्तिम चरणमा पुगेकाले छिट्टै बोलपत्र आह्वान गरेर काम शुरु गरिने जनाइएको छ ।

आगामी असोजमा पुल निर्माणकार्य पूरा गर्ने उद्देश्यका साथ काम भइरहेको सडक विभागले जनाएको छ । त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने करपगाड खोला, खदाङ्गको हरियापानीस्थित ठूलीभेरी नदी, त्रिपुराकोटको छलगाडखोला, त्रिपुराकोट बगरस्थित ठूलीभेरी नदी र ठूलीभेरी नगरपालिकामा पर्ने रुपगाड खोलामाथि बेलिब्रिज पुल निर्माण गर्न लागिएको हो ।

सडक विभाग र बिएनबी कन्सल्टेन्सीले पुलको अन्तिम नक्साङ्कन सम्पन्न गरी काम अगाडि बढाउन लागेको जानकारी दिएको छ । करीब ११८ किलोमिटर लामो जाजरकोट–डोल्पा सडकको ट्र्याक खोल्ने कार्य नेपाली सेनाले २०७५ मङ्सिर ४ गते सम्पन्न गरेको थियो । निर्माण गरेको एक वर्षपछि २०७६ कात्तिक २१ गते सडक विभागलाई जाजरकोट–डोल्पा सडक औपचारिकरूपमा हस्तान्तरण गरिएको थियो ।

विद्युत आयोजना निर्माणमा सहजता आउने

भेरी करिडोरभित्रका सडकमा कालोपत्र पुलको काम शुरु भएसँगै सडकभित्र पर्ने नलगाड जलविद्युत् आयोजना र जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि सजिलो हुने भएको छ । आयोजना निर्माणका लागि लग्नुपर्ने कच्चा पदार्थ तथा आवश्यक उपकरण र विद्युत् लैजानसमेत सजिलो हुने भएको छ ।