• गृहपृष्ठ
  • दमौली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

दमौली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

Jan 14th, 2020

दमौली, २९ पुस (रासस)

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दमौली अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा स्तरवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । दमौली अस्पताल व्यवस्थापन समितिले सोमबार यहाँ आयोजना गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री गुरुङले अस्पतालको स्तरोन्नतिको गरी प्रादेशिक अस्पताल बनाउने बताउनुभयो ।

अस्पतालको बारेमा विस्तृत अध्ययन गर्न तत्काल प्राविधिक टोली पठाउने र आफूले पनि स्थलगतरुपमै अध्ययन गर्ने भन्दै मुख्यमन्त्री गुरुङले प्राविधिकको प्रतिवेदनपछि थप आवश्यक पूर्वाधारको व्यवस्था गर्न सहज हुने धारणा राख्नुुभयो । मुख्यमन्त्री गुरुङले दमौली अस्पतालको भौतिक एवं अन्य विकासको लागि प्रदेश सरकारको तर्फबाट तत्काल रु तीन करोड बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

छलफलमा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, प्रतिनिधिसभाका सांसदद्वय केदार सिग्देल र कृष्णकुमार श्रेष्ठ ‘किसान’, नेकपा केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, प्रदेशसभाकी सांसद आशा कोइराला, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलगायत सहभागी हुनुहुन्थ्यो । सो अवसरमा अस्पतालका अध्यक्ष प्रदीपराज अधिकारीले अस्पतालको बारेमा जानकारी गराउनुभएको थियो ।

पन्ध्र श्यया क्षमताको अस्पतालबाट हाल ४२ श्ययामा सेवा प्रवाह भइरहेको छ । सरकारीतर्फ २४ जना दरबन्दी भएपनि १८ जना मात्रै कार्यरत रहेको र अस्पताल विकास समितिमार्फत् ३३ जना कर्मचारी अस्पतालमा कार्यरत छन् । अस्पतालमा हाल सरकारी दरबन्दीमा एक मेसु, दुई मेडिकल अधिकृत, पाँच स्टाफ नर्स÷अनमी, तीन एचए, एक रेडियोग्राफर, दुई ल्याब टेक्निसियन÷असिस्टेण्ट, दुई प्रशासनतर्फ कर्मचारी र दुई कार्यालय सहायक कार्यरत छन् ।

अस्पतालले आकस्मिक सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायोलिसस सेवासमेत प्रदान गर्दै आइरहेको छ । पन्ध्र रोपनी १४ आना जग्गामा फैलिएको अस्पताल थप जग्गाको अभावमा स्तरोन्नति हुनसकेको छैन ।

विसं २०३४ मा स्वास्थ्यचौकीको रूपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रको रूपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ मा अस्पतालको रूपमा स्तरोन्नति भएको थियो । विसं २०७२ मा अस्पतालको आफ्नै सुविधा सम्पन्न भवन निर्माण भएको थियो । सोही वर्ष अस्पतालमा डायलोसिस सेवा शुरु गरिएको, विसं २०७३ मा मानसिक उपचार केन्द्र स्थापना गरिएको अस्पतालमा विसं २०७४ मा आफ्नै फार्मेसी सञ्चालन गरिएको थियो ।

अस्पतालले आर्थिक वर्ष २०७५/७६ मा करीब ४० हजारलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ । मेसु डा पौडेलका अनुसार ओपिडिबाट ३९ हजार ७४२ लाई सेवा प्रदान गरिएको छ । त्यस्तै इमर्जेन्सीमा पाँच हजार २०५, भर्ना भएका एक हजार ५०० जनालाई सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ । अस्पतालले चालु आर्थिक वर्षदेखि नै सेवाग्राहीलाई सुविधा प्रदान गर्न टोकन प्रणाली पनि लागू गरेको छ ।

टोकन प्रणाली लागू भएपछि अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आउने बिरामीले टिकट काट्नको लागि लाइन बस्नुपर्ने झन्झट हटेको छ । रु दुई लाख ५० हजारको लागतमा जडान गरिएको टोकन मेसिनबाट टोकन लिएपछि सेवाग्राहीले आफ्नो पालोमा सेवा लिन सक्नेछन् ।