• गृहपृष्ठ
  • लिबिया संकट बारे चार देशका नेताहरुको छलफल

लिबिया संकट बारे चार देशका नेताहरुको छलफल

Jan 13th, 2020

मस्को,२८ पुस (रासस/सिन्ह्वा)

लिबियामा बढ्दै गइरहेको संकटका बारेमा विभिन्न देशका नेताहरुका बीचमा छलफल भएको छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका उहाँका समकक्षी एम्यानुएल मर्कोनले आइतबार कुराकानी गर्नुभएको हो ।

टेलिफोनमा भएको कुराकानीका क्रममा उहाँहरुका बीचमा लिबिया संकट, युद्ध विरामको महत्वलगायतका विषयमा छलफल भएको रुसी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
कार्यालयद्धारा जारी वक्तव्यका अनुसार दुवै नेताहरुले लिबियाको संकट समाधानका लागि आ आफ्नो तर्फबाट सक्दो सहयोग गर्न तयार रहेको बताउनु भएको थियो । संकट समाधानका लागि राजनीतिक तथा कुटनीतिक तवरबाट पहल थाल्ने र जर्मनीको राजधानी बर्लिनमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने बारेमा पनि उहाँहरुले छलफल गर्नुभएको वक्तव्यमा नाइएको छ ।

पुटिन र मर्कोनले युक्रेनको द्वन्द्वका साथै इरान र सिरियाको पछिल्लो अवस्थाका बारेमा पनि कुराकानी गर्नुभएको थियो । यसअघि शनिबार पुटिन र जर्मन चान्सलर एञ्जेला मर्केलका बीचमा पनि कुराकानी भएको समाचारमा जनाइएको छ ।

त्यसैगरी जर्मनी चान्सलर मर्केलले टर्कीका राष्ट्रपति रेसेप तयप एर्डोगानसँग पनि लिविया संकटका बारेमा कुराकानी गर्नुभएको छ । आइतबार भएको फोन कुराकानीका क्रममा उहाँहरुले लिबियामा हालै विकसीत घटना क्रमका बारेमा छलफल गर्नुभएको टर्कीका सरकारी अधिकारीहरुले जनाएका छन् । उहाँहरुले क्षेत्रीय चासो र सरोकारका विषयमा पनि कुराकानी गर्नुभएको सरकारी निकायद्धारा जारी वक्तव्यमा जनाइएको छ ।