• गृहपृष्ठ
  • कारागारमा भएको हत्याबारे अनुसन्धान जारी

कारागारमा भएको हत्याबारे अनुसन्धान जारी

Jan 13th, 2020

मेक्सिको सिटी,२८ पुस (रासस/सिन्ह्वा)

मेक्सिकोको एक कारागारमा एक हप्ताअघि कैदीबीच भएको झडपको क्रममा कम्तीमा १६ कैदीको मृत्यु भएको विषयमा अनुसन्धान जारी रहेको बताइएको छ ।

मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जाकातेकास क्षेत्रमा रहेको कारागारमा सो झडप भएको थियो । उक्त झडपका कारण १६ कैदीको ज्यान जानुको साथै अरु दर्जनौँ व्यक्ति घाइते पनि भएका थिए ।

स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार उक्त झडपबाट धेरै व्यक्तिको ज्यान गएकोले यसको कारणको बारेमा यहाँको गृह प्रशासनले अनुसन्धान थालेको छ ।

प्रदेश राजधानी जाकातेकासदेखि १३ किलोमिटर टाढा पर्ने सिएनेगुइल्लासमा घटना भएको अधिकारीले जनाएका थिए । यस विषयमा अनुसन्धान जारी रहेको र केही दिनमा यसको कारण स्पष्ट गरिने बताइएको छ ।

प्रारम्भिक अनुसन्धान प्रतिवेदनअनुसार सो कारागारमा सयौँ व्यक्ति रहेकाले ठूलो क्षतिको त्रास रहेकोमा स्थानीय प्रहरीले तत्कालै हस्तक्षेप गरेर नियन्त्रणमा लिएका कारण ठूलो क्षति हुनबाट रोकिएको थियो ।

मेक्सिकोका कारागारमा यस्ता झडपहरु समय समयमा हुने गर्दछन् । यस्ता प्राय झडपहरु लागूऔषधका कारोबारीमा संलग्न कैदीबन्दीबीच हुने गर्दछ ।