• गृहपृष्ठ
  • रामपुरमा ३०० मेट्रिक टन क्षमताको शीतभण्डार स्थापना गरिने, कृषक उत्साहित

रामपुरमा ३०० मेट्रिक टन क्षमताको शीतभण्डार स्थापना गरिने, कृषक उत्साहित

Jan 13th, 2020

बेझाड, २८ पुस (रासस)

कृषिजन्यउपजलाई सुरक्षित भण्डारण गर्न पाल्पाको रामपुर नगरपालिकामा शीतभण्डार स्थापना हुने भएको छ । कृषि शाखा कार्यालयको परिसरमा ३०० मेट्रिक टन क्षमताको भण्डारण बनाउन विस्तृत परियोजना प्रतिवेदन तयार (डिपिआर) तयार भइसकेको जनाइएको छ ।

प्रदेश नम्बर ५ को सशर्त अनुदान रकम रु पाँच करोड ९४ लाखको लागतमा निर्माण सम्पन्न गर्ने गरी डिपिआर तयार भएको नगरपालिकाका सूचना अधिकृत रामहरि पाण्डेयले जानकारी दिनुभयो । बोलपत्र आह्वान गरेर निर्माणको प्रक्रिया छिट्टै नै अगाडि बढाइने उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाभित्र उत्पादन भएका कृषिउपजले बजार नपाउँदा कृषकले सास्ती खेप्दै आइरहेका छन् । कहिलेकाहीँ बजारमा नबिकेर कृषकले खेतबारीमै कुहाउन बाध्य छन् । कृषकको उत्पादनलाई बिग्रन नदिन शीतभण्डार निर्माण गर्न लागेको नगर प्रवक्ता हुमनाथ न्यौपाने जानकारी दिनुभयो ।

स्थानीय उत्पादनलाई प्राथमिकता दिन शीतभण्डार निर्माणको योजना ल्याइएको नगरपालिकाका प्रमुख रमणबहादुर थापाले जानकारी दिनुभयो । “कृषकको जीवनस्तर माथि उकास्न र उनीहरुले उत्पादन गरेका कृषिजन्य सामग्री नबिग्रियोस र मूल्य पनि राम्रो पाउन, बिचौलियाको चलखेल नहोस् भनेर शीतभण्डार निर्माणमा जोड दिएका हौँ”, उहाँले भन्नुभयो । शीतभण्डार निर्माण हुने भएपछि यस क्षेत्रका कृषक उत्साहित भएका छन् ।